हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा अहिले ८ वटा विद्यालयले अतिरिक्त कक्षा सञ्चालन भइरहेको छ । गाउँपालिकाका शिक्षा शाखाका प्रमुख आइतराम तामाङका अनुसार गाउँपालिकामा रहेका १२ वटा मावि विद्यालयमध्ये ८ वटा विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरिरहेको हो ।
अतिरिक्त कक्षा सञ्चालनमा गाउँपालिकाको कुनै पनि सहयोग नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार परीक्षामा राम्रो नतिजा ल्याउन सफल हुने विद्यालयहरुलाई प्रोत्साहनस्वरुप सहयोग गर्ने घोषणा भएको छ । गाउँपालिकाका विद्यालयहरुमा असार २४ गतेदेखि ३१ गतेसम्म पहिलो त्रैमासिक परीक्षा सञ्चालन भएको थियो । गाउँपालिकाको शैक्षिक क्यालेण्डरअनुसार साउन १ गतेदेखि २७ गतेसम्म वर्षे विदा दिइएको छ ।
गाउँपालिकाअन्तर्गत प्रावि ५३ वटा, मावि १२ वटा र ११ वटा निमावि गरी ७६ वटा विद्यालयहरु रहेका छन् । यस वर्ष गाउँपालिकाभित्रका विद्यालयहरुमा ८ हजार ३ सय ८३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
पालिकाका विद्यालयमा वर्षेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको उहाँले बताउनु भएको छ । गत वर्ष पालिकाका विद्यालयमा ९ हजार ८ सय २ जना विद्यार्थी रहेका थिए । यसवर्ष करिब १ हजार ५ सय जना विद्यार्थी कम भर्ना भएको तामाङले जानकारी दिनुभयो । यो संख्या आगामी वर्षहरुमा थप घट्दै जाने देखिएको छ । जसको मुख्य कारण निजी विद्यालयमा जाने, जनसंख्या वृद्विदर घट्दै जानु, बसाइँसराइ, रोजगारी, सुविधालगायत अन्य कारण रहेको छ ।