हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ७ वटा अस्पतालहरुको सुधारको लागि २ करोड २० लाख बजेट छुट्टाएको छ । सामाजिक विकास मन्त्रालयले हेटौंडाको सामुदायिक आँखा अस्पतालको सुधारको लागि ३० लाख, मनमोहन सामुदायिक अस्पताल दक्षिणकालीको लागि ३० लाख, धुलिखेल सामुदायिक अस्पताललाई ५० लाख, राजमार्ग सामुदायिक अस्पताल मलेखु धादिङलाई ३० लाख, नेशनल किड्नी सेन्टर वनस्थली काठमाडौंको लागि ३० लाख, नेपाल कृष्ठरोग निवारण संघ दक्षिणकालीको सुधारका लागि ३० लाख बजेट छुट्टाएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
आगामी वर्षमा सामाजिक विकास मन्त्रालयले प्रदेश मातहतका अस्पतालमा न्यूनतम सेवा मापदण्ड सुधार गर्न मकवानपुर, नुवाकोट, भक्तपुरका अस्पतालहरुलाई २५/२५ लाख खर्च गर्ने भएको छ । त्यस्तै हेटौंडा अस्पताललाई आगामी वर्षमा पनि जेरियाट्रिक वार्र्ड स्थापना गर्न २५ लाख बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले आगामी वर्षका लागि कोभिड–१९ प्रयोगशालाको उपकरण खरिद गर्न १ करोड बजेट छुट्टाएको छ । प्रदेशस्तरीय अस्पतालहरुमा आइसियु, एचडियू लगायत सेवाहरुको उपकरण व्यवस्थापन गर्न १० करोड छुट्टाएको छ । मन्त्रालयले आगामी वर्षमा संघीय सरकारले क्यान्सर पीडितलाई दिँदै आएको १ लाखको सहायतामा ५० हजार थप गर्ने निर्णय गरेको छ । मन्त्रालयले आगामी वर्षको यस्तो सेवा दिन ७ करोड ५० लाख छुट्टाएको मन्त्री दुलालले जानकारी दिनुभयो ।
यस्तै बागमती प्रदेश सरकारले आगामी वर्षमा हेटौंडा अस्पताललाई तीनसय शैयाको क्षमतामा स्तर वृद्धि गर्ने, भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई सय–सय शैया क्षमताको विशिष्टीकृत सेवासहितको अस्पताल निर्माण गर्ने, धादिङ र चौतारा अस्पताललाई पचास–पचास शैया क्षमताको अस्पताल बनाउने, रामेछाप र रसुवा अस्पताललाई २५/२५ शैया क्षमताको अस्पतालमा स्तरोन्नति गर्ने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम, नियन्त्रण र उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट, काभ्रेको मथिनकोट, ललितपुरको बज्रबाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाउको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पतालहरुको स्तरोन्नति तथा संभाव्यता अध्ययन गर्न १४ लाख बजेट समेत छुट्टाएको छ ।