गिजुभाइ बधेकाको जन्म १५ नोभेम्बर १८८५ मा भएको थियो भने उनको स्वर्गारोहण २३ जुन १९३९ मा भएको थियो । उनी एक शिक्षाविद् थिए जसले भारतमा मन्टेश्वरी शिक्षा विधिहरू परिचय गराउन मद्दत गरेका थिए । उनलाई मूछली माँ (घाँटीसँग आमा) भनेर चिनिन्छ । बधेका उच्च अदालतका वकिल थिए, तर सन् १९२३ मा छोराको जन्म भएपछि उनको बाल्यकालको विकास र शिक्षामा रुचि जाग्यो । सन् १९२३ मा, बधेकाले “बाल मन्दिर” पूर्वप्राथमिक विद्यालय स्थापना गरे । बधेकाले दिवास्वप्न, हामी आमा बाबुलगायत शिक्षा क्षेत्रमा धेरै कृति प्रकाशित गरेका छन् ।

’हामी आमाबाबु’ यो हिन्दीमा अनुवादित गिजुभाइको कृति “माँ–बापों की माथापच्ची” को नेपाली रुपान्तरण हो । गिरिजाशङ्कर भगवानजी बधेका अर्थात गिजुभाइ अब नेपालीका लागि अपरिचित छैनन् । झण्डै डेढ शताब्दी अघि सन् १८८५ मा भारतको गुजरातमा जन्मेका र ५५ वर्षको अल्पायु मात्र पाएका गिजुभाई बालबालिकामाथि अगाध विश्वास र सम्मानभाव राख्ने विख्यात शिक्षाशास्त्री हुन् । उनले आफैँ बाल मन्दिर खोलेर बाल शिक्षणको आदर्श बाटो मात्र देखाएनन् यसका विभिन्न पक्षमा १५० भन्दा बढी पुस्तकसमेत लेखे । बालशिक्षालाई सार्थक र प्रभावकारी बनाउन चाहनेहरुका निम्ति उनका कार्य तथा विचारहरु निरन्तर मार्गदर्शक बन्दै आएका छन् र बनिरहने छन् ।

शरचन्द्र वस्ती सिद्धहस्त लेखक र वरिष्ठ पत्रकारले “हामी आमाबाबु” लाई नेपालीमा अनुवाद गर्नुभएको हो । पुस्तकको शीर्षक ’हामी आमा बाबु’ र लेखक गिजुभाइ बधेका भएकाले यसमा अभिभावकका लागि केही नयाँ कुरा सिक्न पाइन्छ भनेर पढ्न सुरु गरेँ । पुस्तक सरर पढ्दा रमाइलोका लागिरहेको थियो र पढ्दै गर्दा कुनै प्रसङ्गले बढी नै छोयो ।

जस्तैः बाबा आउनु भोलिको ठीक, को बेठीक ? कसको कुरा मान्नु ? वचनको मूल्य अलिकति विचार पुर्याएको भए, यस्तै कतिपय प्रसङ्गले आफूलाई सोच्न बाध्य बनायो कि अभिभावक बन्न र सन्तानसँग जोडेको हर एक समस्याको समाधानलाई कति पो सहज पार्नु पर्दो रहेछ । हामी अभिभावकबाट आफ्नो नानीबाबु प्रति गर्ने कर्तव्यमा कतै न कतै त्रुटी कमजोरी भइनै हाल्छ । घर परिवारका ठूला मानिसको सोच व्यवहार र बोलीचालीको सबैभन्दा धेरै प्रभाव र असर बालबालिकाहरुमै पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा समय हो । हामी आफ्नो नानीबाबुलाई तोकिएको समय दिन सक्दैनौँ । कहिले काहिँ अरुको रिस आफ्ना सन्तान माथि पोख्छौँ । अनि उनीहरुलाई थाहा नि हुँदैन कुन गल्तीको सजाय उनीहरुले पाइरहेका छन् ।

यस्तै कतिपय कुराले मनलाई एकदमै छोयो र आफ्नो व्यवहारले गर्दा कति अवस्थामा म आफ्नो सन्तान अगाडि गलत छु भनेर थाहा पाएँ । पुस्तकमा भनेको जस्तै हामी अभिवावक साना साना कुरालाई देखेर र बुझेर आफ्नो नानीबाबु अघि प्रस्तुत भए भने उनीहरुले पाउने शिक्षा स्कुल, कलेजमा दिएको शिक्षाभन्दा कता हो कता गहिरो हुन्छ । यस्तै कतिपय कुराले समाज र समुदाय, जीवन र जगत, नैतिकता र मुल्य, मान्यता अनि आचरण र व्यवहार सम्बन्धी यो सबै बुझेर हाम्रा पुर्वहरुले भनेका छन् ः
उपाध्यायान् दशाचार्य आचार्भाणा शतं पिता ।
सशस्रं तु पितृन् माता गौरवेणातिरिच्यटे ।।

अर्थात् दश जना उपाध्यायभन्दा बढी एक जना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा बाल विकासका निम्ति महत्वपूर्ण हुन्छन् । जीविकाका निम्ति तलब लिएर कुनै वा केही विषय पढाउने शिक्षक ’उपाध्याय हो भने प्रतिदानको अपेक्षा विना निःशुल्क विद्यादान गर्ने र आचार सिकाउने गुरु ’आचार्य’ हो । आजको सन्दर्भमा तलबप्रति निरपेक्ष रहेर शिक्षणकार्यमा पूर्णतः समर्पित आदर्श शिक्षकलाई पनि यस कोटिमा राख्न सकिन्छ । तर तिनको सीमा छ आमाबाबुको भूमिका असीमित छ । हेटौँडा–१६