हेटौँडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाले आज मंगलबार दावी पेश गर्नुहुनेछ । सोमबार नै लामाले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया काठमाडौं जानुभएपछि मुख्यमन्त्रीमा दावी पेश गर्ने कार्यक्रम स्थगित भएको थियो ।
प्रदेश प्रमुख कार्यालय हेटौंडामा बिहान १० बजेका लागि समय माग गरिएको भएपनि अन्तिम समयमा स्थगित भएको प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार समय सीमा बाँकी नै रहेकाले कार्यक्रम स्थगित गरिएको हो । सोमबारको कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।
काँग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका लामाले मंगलबार मात्र दावी गर्ने उहाँले बताउनुभयो । लामाले मंगलबार बिहान १०-११ बजे मुख्यमन्त्रीमा दावी गर्ने उहाँको भनाई छ । एमाले र काँग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम रोकिएको उहाँले बताउनुभयो । आज (सोमबार) दावी गरेपनि भोलि (मंगलबार) दावी गरेपनि कुनै समस्या नरहेकाले मंगलबार गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
सत्ता समीकरण परिवर्तनपछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी गर्न आह्वान गर्नुभएको थियो । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको थियो । सोही अनुसार एमालेका २७ र काँग्रेसका ३७ जना गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले सरकारमा दावी गर्ने तयारी गर्नुभएको थियो ।