आज श्रावण ५ गते, लोककवि गणेशलाल श्रेष्ठको जन्मदिन । ऐतिहासिक महत्वको भिमफेदीमा जन्मेका लोककविको जन्मस्थानमै उनको प्रतिमा राख्ने ठाउँ पाएनौं ।
२०११ सालको ठूलो बाढी–पहिरोले भिमफेदी लगायत यस वरपरका गाउँ–बस्तीहरुमा ठूलो क्षति पु¥यायो र २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि यसको महत्व घट्दै गएको हो । यसभन्दा अगाडि यो ऐतिहासिक बजार देशभित्र र बाहिर छिर्ने प्रमुख नाका थियोे । त्रिभुवन बिमानस्थल बनेको थिएन । बेलायत लगायत पश्चिमा देश र भारतबाट समेत रक्सौलदेखि अमलेखगञ्जसम्म रेलमा, अमलेखगञ्जदेखि भीमफेदीसम्म ट्रक, बसमा चढेर आइपुगिन्थ्यो । भीमफेदीमा बास बसेपछि पैदलै हिँडेर चिसापानीको उकालो, कुलेखानी, चन्द्रागिरी चढेपछि मात्र काठमाडौं उपत्यका पुगिन्थ्यो ।
भीमफेदीको चिसापानी गढीमा जिल्लाका बडा हाकिम बस्दथे । देशबाट बाहिरिने र भित्रिनेहरुको गढी मै राहदानी जाँच हुन्थ्यो । भीमफेदी बजारदेखि एक कोस पर धोर्सिङ बजारमा रोपवेबाट तराई, भित्री मधेस र भारतबाट समेत आयात गरिएका खाद्यान्न, दैनिक उपभोगका सामानहरु, लत्ता–कपडा मट्टीतेल उपत्यका भित्र ढुवानी हुन्थ्यो । भीमफेदीबाट थानकोटसम्म डोको र तामदानमा हिँड्न नसक्ने यात्रुहरू बोकाएर यात्रा गर्दथे । भरियालाई बोकाएर पनि सामान ढुवानी हुन्थ्यो । काठमाडौंमा राजा, राणा र ठुला भारदार चढ्ने उसबेलाका कार, जिपहरु सयौं भरियाहरुलाई बोकाएर भीमफेदी हुँदै काठमाडौं उपत्यका पुर्याइन्थ्यो ।
देशभित्र बाहिरी संसारका मानिस हिमालय र पहाडै पहाडको देश नेपालको राजधानी आउने जाने बास बस्ने एउटै मात्र नाकाको बजार भएकोले यस स्थानको चहलपहल निकै महत्वपूर्ण थियोे । चारैतिर सुन्दर र विशाल पहाडले घेरिएको उत्तर र पूर्बबाट बग्ने नदि र खोलाले घेरिएको मिठो पानी र स्वच्छ हावाले भीमफेदीको विशेषतालाई थपिदिएको थियो । उहिले शिरानको बजारमा एउटा सानो बजार थियो । यहिँबाट ठाडो उकालो चढेर चिसापानीको उकालो उक्किनु पर्दथ्यो । उकालोको फेदमा भीमसेनको मूर्ति र मन्दिर थियो । बजारको उत्तर–पूर्बको कुनोमा सैनिकहरु बस्ने ठुल्ठुला ब्यारेकहरु थिए । बिच बजारमा टेलीफोन, बिजुली, हुलाक, श्री चन्द्र अस्पताल, पाठशाला, अनिकालमा अन्न भण्डारण गर्ने धान गोदाम, यात्रुहरू विश्राम गर्ने ठुल्ठुला धर्मशालाहरु थिए । तल्लो धर्मशालामा सिलाई–कटाई तानमा लुगा बुन्ने कृषि र बागबानीसम्मको पढाई हुने ८ कक्षासम्मको भिम आधार हाई स्कुल थियो । २०१८ सालमा यो महेन्द्र हाइ स्कुलमा रुपान्तरण भयो ।
बजारको पुछारमा तात्कालिक समयका श्री ३ र श्री ५ बस्ने ठुला दरबारहरु, मोटर राख्ने ग्यारेज, घोडा बाँध्ने तबेलाका साथै बिच बजारको शिरानमा जंगल सफारी र शिकार खेल्न र हात्ती चढ्न आवश्यक बन्दोबस्तीका सामान राख्ने भण्डार, हात्तीसार बनेको थियो । बजारदेखि १ कोस पश्चिम धोर्सिङमा काठमाडौंको मातातीर्थसम्म बिजुलीबाट चल्ने रोपलाइन थियो । धोर्सिङ बजारमा काठमाडौ रोपबाट ढुवानी गर्ने भारत र तराईबाट ल्याएका दैनिक उपभोगका सामान लत्ता–कपडा, नुन, मट्टीतेल आदि भण्डार गर्ने गोदामहरु थिए ।
तत्कालिन समयको भीमफेदी बजार आर्थिक, सामाजिक, धार्मिक र साँस्कृतिक रुपले निक्कै सम्पन्न थियो । व्यापारिक दृष्टिकोणले बिदेश, तराई–मधेस र वरपरका गाउँ–बस्तीहरुबाट दैनिक उपभोगका सामान, कृषिजन्य पदार्थ, तेल, मट्टितेल, मेसनरी पार्ट पुर्जाहरु देशी–बिदेशी उद्योगी व्यवसायी र व्यापारीहरु यहि बजार भएर नेपाल आउने–जाने भएकाले र यात्रुहरू यहीँका धर्मशाला, होटेलमा वास बसेर जाने भएकोले बजारको आर्थिक अवस्था निकै राम्रो थियोे ।
राणा शासनको अन्तिम र प्रजातन्त्र आउने ताका यो बजार राजनीतिक रुपले गतिशील थियो । जहानीया र निरंकुश राणाशासनको प्रस्थान बिन्दुको बजार भएकोले पनि युवाहरू सचेत थिए । परिवर्तनका संवाहक नेताहरू बिपि कोइराला, गणेशमान सिंह, टंकप्रसाद आचार्य, पुष्पलाल श्रेष्ठ, डा. के.आई. सिंह लगायत सहिद परिवारको पनि आवत–जावत भैरहन्थ्यो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा आन्दोलनकारीहरुले यसै स्थानबाट छद्मरूपमा पर्चाहरु काठमाडौं उपत्यकामा पु¥याएका थिए । प्रजातन्त्र स्थापनापश्चात छिमेकी देश भारतले हाम्रो देशको उत्तरी सिमाना कालापानी र देशको १२ ठाउँमा भारतीय सैनिक मिसन राखेको थियोे । भिमफेदीको सुपिङ ब्यारेकमा पनि त्रिभुवन राजपथ निर्माणमा उत्तर तिरको सुरक्षा चुनौती बहाना देखाएर सैनिक बटालियन तैनाथ गरेको थियो । भारतीय सैनिक मिसनको बिरोधमा भीमफेदी लगायत देशभर व्यापक प्रदर्शन भएपछि २०१३ सालमा कालापानी बाहेक अन्य ११ स्थानको भारतीय मिसन फिर्ता भएको हो । तर लिम्पियाधुरा–कालापानीको सैनिक क्याम्प भारतले अझै हटाइएको छैन ।
त्यसबेलाको धार्मिक तथा साँस्कृतिक अवस्था राम्रो थियोे । महाभारतको कथामा पाँच पाण्डवहरु स्वर्ग जाने क्रममा भीमफेदीमा बास बसेको स्थानमा भोलिपल्ट भीमसेनको एउटा पिडौला शिलाको रूपमा देखिएकोले त्यसै स्थानमा भीमसेनको मन्दिर निर्माण भएको थियो । भीमसेनले बास बसेकैले यस स्थानको नाम भीमफेदी रहन गएको किम्वदन्ती पनि छ । यहाँ बर्षैभरी हरेक चाडपर्व र उत्सवमा काठमाडौं उपत्यकामा हुने साँस्कृतिक जात्राहरु, गाईजात्रा माघ महिनामा हुने जात्राहरु लाखे नाच आदि हुने गर्दथ्यो । भीमसेन जात्रा यहाँको प्रशिद्ध जात्रा हो । यो जात्रा मनाउन, गीत–भजन गाउन र दोहोरी झ्याउरे गाउन र आअफ्नो कला संस्कृति देखाउन चारैतिरबाट मानिसहरू आउँथे । यहाँको विद्यालय र साँस्कृतिक कलाकर्मीहरुको संयुक्त आयोजनामा बेला–बेलामा नाटक, झाँकी, हाँस्य–व्यंग्यका कार्यक्रमहरु हुने गर्दथ्यो । विश्व प्रसिद्ध लेखक म्याक्सिम गोर्कीको आमा, बालकृष्ण सम, भिमनिधि तिवारी, विजय बहादुर मल्ल, हृदयचन्द्र सिंह जस्ता ख्यातिप्राप्त लेखकहरुको नाटक मञ्चन हुने गर्दथ्यो । ख्यातिप्राप्त लेखकहरुको कृतिमा आजभन्दा ६० बर्ष अगाडि नै अभिनय गर्ने र सक्रिय हुने कलाकारहरुमा लोककवि गणेशलाल श्रेष्ठ, आनन्दलाल श्रेष्ठ, संघरत्न तुलाधर, परशुराम दास श्रेष्ठ, गोविन्द बहादुर ज्यामी, धनलाल श्रेष्ठ, केशव दास श्रेष्ठ, सुन्दरराज ठिके लगायतका युवाको सक्रियता थियो । साँस्कृतिक तथा धार्मिक झाँकी, जात्रा तथा ¥यालीहरुमा पुष्पनारायण मुल्मी, गणेशलाल श्रेष्ठ, डम्मरध्वज राना, केदार श्रेष्ठ, सिताराम प्रधान, महावीर श्रेष्ठ, हर्षरत्न बज्राचार्य लगायतका व्यक्तिहरु सक्रिय थिए ।
बीच बाटोको बजार भएकोले राष्ट्रियस्तरका कलाकार र देशी–बिदेशी कलाकारहरुले पनि बेलबेलामा कला प्रदर्शन गर्दथ्यो । भारत तिरबाट आउने कलाकारहरुले हप्तौंसम्म राम लिला र धार्मिक कलाकृतिहरु प्रस्तुत गर्ने गर्दथ्यो । यी विविध धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक क्रियाकलाप भएको भीमफेदी २०११ सालको बाढी र पहिरोले क्षत विक्षत बनायो । भैँसेदेखि काठमाडौंसम्म मोटर चल्न थालेपछि यहाँको चहलपहल बिस्तारै घट्दै गयो । भीमफेदी वरपरका गाउँ–बस्तिका बासिन्दाहरु, बजारका व्यापारीहरु जीविकोपार्जनका लागि हेटौंडातिर कामको खोजीमा र त्यस वरपरका जंगल फँडानी गर्दै बसाई सर्न थाले । जिल्लास्तरका कार्यालयहरु र सदरमुकाम हेटौँडा सरेपछि भने यो बजार निकै सुनसान भयो ।
यस्तो ऐतिहासिक स्थानमा जन्मनुभएका मकवानपुरका पहिलो श्रष्टा लोककवि गणेशलाल श्रेष्ठले यहि माटोमा आफ्नो कला, साहित्यको श्रृजना गरे । तत्कालिन समयमा देवदेवीका मठ–मन्दिरहरुमा गाउने भजन र गीतहरु हिन्दी भाषाका हुन्थे । अहिले पनि हिन्दी भाषाकै भजनको बाहुल्य छ । उहाँले पहिलो पटक नेपालीमा गीत र भजनहरु लेखी गोरखापत्र छापाखानाबाट “मेरो पुष्पाञ्जली” नामको भजनमाला प्रकाशित गर्नुभयो । नेवारी, नेपाली र तामाङ भाषाका समेत सिद्धहस्त लेखकले २०१३ सालमा तीनै भाषामा गीत, गजल र झ्याउरे “दुई थुङ्गा” नामको पुस्तक प्रकाशन गरे । उहाँ आफूले लेखेको गीतमा संगीत भरेर गाउनु पनि हुन्थ्यो । उहाँ सिद्धहस्त हाँस्य कलाकार पनि हुनुहुन्थ्यो । उहाँले तत्कालिन समयको रंगमञ्चमा जीवन पर्यन्त प्रदर्शन गर्नुभयो । उहाँको लेखनी र प्रतिभालाई कदर गर्दै लोक साहित्य परिषद्ले लोककविको उपाधि प्रदान गरी भीमफेदीकै गरिमा बढायो ।
१० बर्ष अगाडि लोककविको शत्बार्षिकी समारोहमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा साहित्यिक गोष्ठी भएको थियो । सत्बार्षिकी समारोहकै क्रममा नेपाल कला तथा साँस्कृतिक संस्थानका कुलपति अम्बर गुरुङ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, गीतकार, संगीतकार एवम् गायक भृगुराम श्रेष्ठ, साहित्यकार तुल्सी थापा, निमेष निखिल लगायत थुप्रै साहित्यकारहरु र कलाकर्मी हरुले कवि तुल्सी थापाको अध्यक्षता मा शत्वार्षिकी समारोह हेटौँडा, पोखरा र भीमफेदीमा भव्यताका साथ मनाएको थियो । लोककविको जन्मस्थल भीमफेदी पुगी दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा गरेको थियो ।
यस्तो गरिमामय इतिहास भएका मकवानपुरका पहिला साहित्य, संगीत र हाँस्य–व्यंग्यका त्रिवेणी लोककविको आफू जन्मेकै स्थानमा प्रतिमा स्थापना गर्नु उपयुक्त सम्झेर दुई बर्ष अगाडि मकवानपुर सरोकार समितिले फोहरा बंगला अगाडि आकासे धारा पार्कमा भीमफेदी गाउँपालिकाको सहमति र संरक्षणमा प्रतिमा स्थापना गर्ने निर्णय गरी अनावरणको सम्पूर्ण तयारी भयो । तर अनावरण गर्ने तयारी गरेको दिन अघिको रातमा केहि अवान्छित व्यक्तिहरुले मूर्ति चोरी गरी चिसापानी पुल मुनी फ्याँके । प्रहरीको सक्रियताले मूर्ति भेटियो पनि । अपराधी भेट्टाउन सकेन । हाल लोककविको प्रतिमा भीमफेदी प्रहरी चौकीमा दुई बर्ष अँध्यारो कोठाबाट केहिदिन अगाडि निकालेर हेटौँडा ल्याइएको छ । लोककवि जन्मेकै स्थानमा केहि व्यक्तिहरुको अवरोधका कारण मूर्ति स्थापित हुन सकेन । बिडम्बना र दुखको कुरा लोककविले आफू जन्मेकै ठाउँमा प्रतिमासम्म राख्ने ठाउँ पाएन । गरिमामय इतिहास बोकेको भीमफेदीले लोककविलाई चिनेन ।
यतिबेला मकवानपुर जिल्ला साहित्यिक गतिविधिमा निकै चलायमान छ । युवा तथा नवोदित साहित्यकारहरु सक्रिय छन् । साहित्य संगम मकवानपुर, भीम बिराग संगीत साहित्य कला प्रतिष्ठान, सिस्नुपानी नेपाल, झरना साहित्यिक परिवार, ,मातृभूमि साहित्य समाज, गजल मञ्च मकवानपुर, आञ्चल साहित्य कला पुञ्ज, प्रगतिशील लेखक संघ, सर्जक सञ्जाल मकवानपुर, नवसर्जक साहित्य चौतारी, बुढ्यौली साहित्य समाज लगायत दर्जनौं संस्थाहरू सक्रिय रहेको बेलामा अग्रज लेखक तथा कलाकार लोककवि गणेशलाल श्रेष्ठको भीमफेदी थानाको एउटा अँध्यारो कोठामा धुलोले छोपिएको प्रतिमा ठूलो प्रयासपछि उद्दार गरी ल्याउन पाएकोमा खुशी हुनैपर्छ । अब उहाँको प्रतिमा स्थापनाका लागि पनि ध्यान जान्छ कि ?