नेपालमा पछिल्ला केही वर्षदेखि डेँगु संक्रमण तिब्र बनिरहेको छ । डेँगु लामखुट्टेको टोकाइबाट सर्दछ । यो भाइरसजन्य समस्या हो । यो रोग डेँगु भाइरसबाट सर्छ, जुन एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा प्रवेश गर्छ । यो पीडादायी र शरीरलाई कमजोर पार्ने संक्रामक रोग हो । डेँगुको प्रमुख लक्षण ज्वरो हो । डेँगु भएमा ज्वरोबाहेक टाउको, मांसपेशी र जोर्नी दुख्ने गर्छ । यसबाहेक आँखाको पछाडि दुख्ने, कमजोरी हुने, भोक नलाग्ने, घाँटी दुख्ने, मुखमा नराम्रो स्वाद आउने, शरीरमा दागहरू आउनेजस्ता लक्षण पनि देखिन सक्छ । डेँगुका धेरैजसो लक्षण सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो मानिसले ज्वरोलाई भाइरल भएको भन्दै बेवास्ता गर्छन् । यसले गर्दा स्वास्थ्य समस्या जटिल बन्न सक्छ । गर्मी र विशेषगरी वर्षायाममा लामखुट्टे बढी हुने गर्दा यो रोग संक्रमणको जोखिम बढी हुने भए पनि डेँगु सदाबहार देखिने गरेको छ ।

२० वर्ष अघिबाट नेपाल देखिन थालेको यो रोगले पछिल्ला ४–५ वर्षमा निकै व्यापकता पाएको छ । नेपालका पछिल्लो केही वर्षदेखि गर्मी लागेसँगै डेंगुका बिरामी बढ्दै गएको देखिन्छ । यो रोग नेपालमा बर्षेनि तीब्ररुपमा फैलिँदै गइरहेको छ । सन् २०२४ को सुरुदेखि हालसम्म नेपालका ७३ जिल्लामा डेँगुका बिरामी देखिइसकेका छन् । हालसम्म १ हजार ४३२ जना संक्रमित भएका छन्, जसमा सबभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित छन् । सन् २०२० मा धरानबाट फैलिएको डेँगुबाट १८ हजार मानिस संक्रमित भएका थिए । उक्त वर्ष ४३ जिल्लामा फैलिएको डेँगुले १२ जनाको मृत्यु भएको थियो । सन् २०२२ मा आइपुग्दा डेँगु ७७ वटै जिल्लामा फैलिँदा ५४ हजार भन्दा बढी संक्रमित भए । उनीहरुमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा पनि ५२ हजार संक्रमित हुँदा २० जनाको मृत्यु भएको थियो ।

वर्षा सुरु भएसँगै डेँगु संक्रमण फेरि देखिन थालेको छ । मकवानपुर जिल्लाको केहि पालिकामा फाट्टफुट्ट डेँगु संक्रमण देखिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाका एक जना बासिन्दालाई डेँगु पुष्टि भएको छ । यस्तै, असार ९ गते भीमफेदी गाउँपालिकाका दुई जना बासिन्दालाई डेँगु भएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत साउन महिनादेखि हालसम्म मकवानपुरमा ८८९ जनालाई डेँगु संक्रमण भएको छ । संक्रमण हुनेमा ४५५ जना पुरुष र ४३६ जना महिला छन् । हेटौंडा उपमहानगर पालिकाका ५ सय ७१ जना डेँगु संक्रमित भएका छन् । जसमा एक जनाको मृत्युसमेत भएको थियो । गत साउनदेखि हालसम्म थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढीका २१ जना, बागमतीका २४ जना, कैलाशका एकजना, मनहरीका ७३ जना, इन्द्रसरोवरका ४ जना, भीमफेदीका ३९ जना, बकैयाका २६ जना र राक्सिराङ गाउँपालिकाका ३ जनामा डेँगु संक्रमण पुष्टि भइसकेको छ । गत साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ८६५ जनामा डेँगु देखिएको छ ।

डेँगुविरुद्ध हालसम्म कुनै खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । यो रोगबाट बच्नका लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने, रोगको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने गर्नुपर्दछ । डेंगु संक्रमणको सम्भावना रहेका क्षेत्रमा आवश्यक सचेतनासहित लामखुट्टे नियन्त्रण गर्नु आवश्यक छ । वर्षायाम भर्खर सुरु भएकाले डेँगु संक्रमण बढेको छैन । संक्रमण बढ्न नदिन स्थानीय सरकारले विशेष सक्रियता देखाउनुपर्छ । विभिन्न स्थान र भाँडामा वर्षाको पानी जम्ने र सोही पानीमा लामखुट्टेले प्रजनन गर्ने भएका कारण यसको संक्रमणको जोखिम बढी हुने गर्दछ । डेँगु संक्रमणबाच बच्न सर्वसाधारण पनि सचेत र जागरुक बन्दै आफ्ना घर, टोलमा लामखुट्टेको बासस्थान नष्ट गर्ने कार्यमा जुट्नुपर्छ ।