हेटौँडाः सहयोगापेक्षी सडक मानवको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मानवसेवा आश्रमलाई नबिल बैंकले २ वटा जीप हस्तान्तरण गरेको छ । नबिल बैंकका अधिकारीहरु मंगलबार मानवसेवा आश्रमको काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ स्थित मानवसेवा आश्रममै पुगेर करिब ६४ लाख रुपैयाँ लागत बराबरको बोलेरो जीप हस्तान्तरण गरेका हुन् । नबिल बैकले २ वटा जीपसँगै मानवसेवा आश्रमको गोरखा शाखाका लागि ३ लाख रुपैयाँ नगद समेत सहयोग गरेको छ ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकमानवको उद्दारका लागि एम्बुलेन्स प्राप्तिका लागि बैंकसँग प्रस्ताव गरे पनि एम्बुलेन्स सञ्चालन गर्न नपाउने भएकोले बैंकले २ वटा जीप हस्तान्तरण गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानवसेवा आश्रमलाई बैंक तथा बित्तीय संस्थाले गरेको यो नै सबैभन्दा ठूलो सहयोग हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई सहयोग गरेको जनाएको छ ।
जीप हस्तान्तरणका लागि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, निर्देशक निर्वाण चौधरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र ढुंगाना, नायव प्रमुख प्रशासकीय अधिकृत मनोज ज्ञवाली मानवसेवा आश्रम पुग्नु भएको थियो । बैंकका अधिकारीहरुले मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र अभिभावक/संरक्षक आनी छोइङ डोल्मालाई जीप हस्तान्तरण गरेको हो । नबिल बैंकका नायव प्रमुख प्रशासकीय अधिकृत मनोज ज्ञवाली आश्रमसँग नजिक रहेर बार्षिकरुपमा सहयोग समेत गर्दै आउनुभएको र उहाँकै सकारात्मक भूमिकाबाट यत्ति ठूलो सहयोग प्राप्त हुन सकेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभएको छ । बैंकले आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
बैंकले हस्तान्तरण गरेको जीप सहयोगापेक्षी सडक मानवको उद्दार, परिवारमा पुनर्मिलनका साथसाथै सरसामान ओसारपसारमा प्रयोग गर्न सकिने बताइएको छ । हेटौँडाबाट सुरु भएको मानवसेवा आश्रमको अभियान अहिले देशका सातै प्रदेशमा विस्तार भएको छ । मानवसेवा आश्रमले १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालन गरेको छ । हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमको १६ वटा केन्द्रमा आश्रम भवन निर्माणको कार्य भइरहेको छ । काठमाडौंसहित सुर्खेत, दाङ, जनकपुर यो वर्षा लगत्तै आश्रम भवन निर्माण सुरु हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
नागार्जुन नगरपालिकाले उपलब्ध गराएको १३ रोपनी जमिनमा काठमाडौँ महानगरपालिकाको सहयोगमा आश्रम भवन निर्माणको ठेक्का सम्झौता भइसकेको छ । साढे ८ करोड लागतमा भवन निर्माणका लागि निर्माण कम्पनिसँग सम्झौता समेत भइसकेको अध्यक्ष अधिकारीले बताउनुभयो । देशभरका आश्रममा १ हजार ७ सय आश्रित छन् । आश्रितमध्ये मानसिक सन्तुलन १ हजार भन्दा बढी आश्रितको मानसिक स्वास्थ्यमा समस्या छ । मानवसेवा आश्रममा १ सय ५२ जना बालबालिका छन् ।