माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी अहिले कक्षा ११ मा भर्ना हुने क्रममा छन् । करिब दुई साताअघि राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेकोपछि उत्तीर्ण हुने विद्यार्थी कक्षा ११ अध्ययनका लागि विद्यालय तथा कलेज छान्न सक्रिय भइरहेका छन् । कक्षा १२ सम्मलाई विद्यालय शिक्षाको रुपमा लिइएको भए पनि एसईई परीक्षापछि अधिकांश विद्यार्थी कक्षा १० पढेको विद्यालयमा कक्षा ११ पढ्दैनन् । धेरैजसो विद्यालयमा कक्षा १० सम्ममात्र पठनपाठन हुने गरेका कारण पनि विद्यार्थी कक्षा ११ पढ्न अन्यत्र जानुपर्ने बाध्यता छ । कक्षा १२ सम्मलाई माध्यमिक तह मानेर विद्यालय शिक्षा भनिए पनि कलेजहरुले समेत कक्षा ११ र १२ को पठनपाठन गराइरहेका छन् । अधिकांश विद्यार्थी तथा अभिभावकले कक्षा ११ र १२ लाई कलेज शिक्षाको रुपमा बुझ्ने गरेकाले कक्षा १२ र १२ कलेजमै पढ्न/पढाउन चाहने विद्यार्थी र अभिभावकको संख्या उल्लेख्य पाइन्छ ।

यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण अर्थात् कक्षा ११ पढ्न अयोग्य भएका छन् । एसईई नतिजामा दुई विषयसम्म ‘एनजी’ आउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका दिने गरिएकोमा यस वर्ष जतिवटा विषयमा ‘एनजी’ आएको विद्यार्थीले पनि करिब एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । ग्रेडवृद्धि परीक्षा दिनेहरु परीक्षाको तयारी गरिरहँदा एसईई उत्तीर्ण विद्यार्थी कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजीमा छन् । विशेषगरी उच्च ग्रेड हासिल गरेका विद्यार्थीहरु विज्ञान तथा व्यवस्थापनका विषयहरु पढ्न नाम चलेका शैक्षिक संस्थामा भर्ना हुन प्रयत्न गरिरहेका छन् । भविष्यको लक्ष्य र रुचिअनुसारको विषय राम्रो शैक्षिक संस्थामा पढ्ने चाहना राख्दै विद्यार्थीहरु गाउँबाट जिल्ला सदरमुकाम र सदरमुकामबाट राजधानी धाउन थालेका छन् । शैक्षिक संस्था र विषय छनोट गर्न द्विविधा भएर कतिपय विद्यार्थी र अभिभावकमा तनाबसमेत भइरहेको छ ।

कक्षा १० सम्म ७ वटा विषय पढेका विद्यार्थीले कक्षा ११ र १२ मा ६–६ वटा विषय पढ्नुपर्ने हुन्छ । ती ६ वटा विषयमध्ये अंग्रेजी, नेपाली र सामाजिक वा गणित गरी तीनवटा विषय अनिवार्य सबैले पढ्नैपर्छ । बाँकी ३ वटा विषय क्षेत्र र समूहभित्रबाट विद्यार्थीले छानेर पढ्न सक्छन् । हरेक विद्यार्थी तथा अभिभावकले भविष्यमा विशिष्ट क्षमता र पहिचान कायम गर्न राम्रो शिक्षा आर्जन गर्न चाहन्छन् । तर, यस्तो चाहना विद्यार्थीको रुचि तथा क्षमता अनि परिवारको आर्थिक अवस्थाअनुकूल हुनु आवश्यक छ । विद्यार्थीको क्षमता र रुचि नभए पनि करबलले अध्ययन गर्नु÷गराउनु उपयुक्त हुँदैन । जुनसुकै विषय अध्ययन गरे पनि आफूले अध्ययन गरेको विषयमा विद्यार्थी अब्बल बन्नुपर्छ । शिक्षा वा ज्ञान बहुआयामिक कुरा हो, ज्ञान आर्जनका क्षेत्र तथा विषयहरु असिमित छन् । सबै विषयको आफ्नै विशिष्टता हुन्छन् । त्यही विशिष्टता विद्यार्थीले आफूले पढेको विषयमा हासिल गर्ने हो भने ऊ भविष्यमा सफल बन्न सक्छ ।

विद्यार्थी तथा अभिभावकलाई कक्षा ११ र १२ मा कुन विषय पढ्ने तथा पढाउने भन्ने चिन्तामात्र छैन, कुन स्कूल वा कलेजमा पढाउने भन्ने चिन्ता र चासो उत्तिकै छ । विभिन्न निजी, सामुदायिक, सरकारी कलेज र कक्षा ११, १२ अध्यापन गराउने सामुदायिक तथा संस्थागत विद्यालयहरु अहिले राम्रो नतिजा हासिल गरेका विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न प्रयत्नरत छन् । आफ्नौ शैक्षिक संस्थाको गुणस्तर, भौतिक सेवासुविधा, छात्रवृत्ति र छुटलगायतका विषयको प्रचारप्रसार गर्दै विद्यार्थी भर्ना गराउन तँछाड–मछाड गरिरहेका छन् । सामान्य स्तरको नतिजा हासिल गरेकालाई भन्दा उच्च ग्रेड हासिल गरेका अधिकांश विद्यार्थी शैक्षिक संस्थाहरुको आकर्षक र विज्ञापन र आश्वासनले अलमलमा परेका छन् । कक्षा ११, १२ नै शिक्षाको पूर्णता वा समाप्त होइन । यो उच्च शिक्षा अध्ययनको आधार तयार गर्ने सुरुवातमात्र हो । अर्थात् कक्षा ११ र १२ को अध्ययन भनेको शैक्षिक गन्तव्यको प्रस्थान विन्दुमात्र हो । यसैले आफ्नो सहजता, रुचि, क्षमतालाई मध्यनजर गरेर अनुकूलको विषय र शैक्षिक संस्था छनौट गर्नु उचित हुन्छ ।