विद्यालय तहमा प्रथम त्रैमासिक परिक्षा हुने बेला भई सक्दा पनि यस वर्षको कक्षा नै सुरु हुन सकेका छैन । विश्वव्यापी महामारी बनेको कोरोना भईरसका कारण सम्पूर्ण क्षेत्र बन्दाबन्दीको अवस्थामा छ । केही दिनदेखि लकडाउन सामान्य खुकुलो भए पनि शैक्षिक संस्थाहरु अझै खुल्न सकेका छैनन् । ठूलो समुहमा बालबालिकाहरुको उपस्थिति हुने भएकाले विद्यायल बन्द नै हुनु आवश्यक छ । त्यसैले सरकारले सबैभन्दा अन्तिममा मात्र शैक्षिक संस्थाहरु खुल्ला गर्ने निर्णय गरेको छ । जतिसुकै होशियारी अपनाए पनि विद्यालयमा साध्य नहुने भएकाले अभिभावकहरु पनि आफ्ना छोराछोरीहरुलाई स्कुल पठाईहाल्ने पक्षमा छैनन् । आमनागरिकको चाहना अनुसार नै यतिबेला शैक्षिक संस्थाहरु बन्द छन् । तर यसले अभिभावक, विद्यालय परिवार तथा विद्यार्थीहरुमा भने हुटहुटी सुरु भएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुग्नै लाग्दा पठनपाठन सुचारु हुन सकेको छैन । यस्तै स्थितिमा सरकारी विद्यालयमा विद्यार्थीको अभिलेखीकरण र पाठ्यपुस्तक वितरण गर्ने काम भएका छन् । पठनपाठनमा सहजीकरणका लागि यतिबेला केही विद्यालयका शिक्षकहरु विद्यार्थीहरुको घर–घरै पुगेर उनीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी गराउन लागी परेका छन् । हेटौंडाका केही विद्यालयहरु केही हप्ता अघि सन्चालन सुरु भए पनि कोरोनाको जोखिम बढ्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाईले तत्काल कक्षा सन्चालन नगर्न भनेको छ । त्यसपछि सोही विद्यालयहरुले विद्यार्थीहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन शिक्षकहरुलाई घर–घरमा पठाउन थालेका छन् । यो पद्दती पनि जोखिममुक्त छैन तर कक्षा संचालन गर्नु भन्दा उपयुक्त विधिका रुपमा लिन सकिन्छ ।

हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि विद्यार्थीको घर–घरमा पुग्न थालेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गर्ने कार्य भएको छ । विद्यालयमै विद्यार्थी बोलाउनु भन्दा कम जोखिम भए पनि टोलभरका विद्यार्थीलाई एकै ठाउँमा भेला गर्दा पनि जोखिम न्यूनिकरणका लागि सतर्कता अपनाउनु आवश्यक छ । अभिभावकको आग्रह र विद्यार्थीहरु कै चाहनामा शिक्षकहरु घरदैलो सेवामा पुगेका हुन् । अनलाईन कक्षाको पहुँच भन्दा बाहिर हुने विद्यार्थीहरुलाई यो शिक्षण विधि प्रभावकारी हुन सक्छ । तर यसो गर्नु भन्दा रेडियो, टिभि वा अनलाईनमाध्यबाट गरिने पढाईमा सहभागी हुन सहजीकरण आवश्यक छ । र स्थानीय तहहरुले विद्यालयहरुसँगको समन्वयमा प्रविधियुक्त कक्षाका लागि पहल गर्नु पर्दछ ।

विद्यार्थीलाई भेटेर शिक्षकको समूहले गृहकार्य दिने र परीक्षण गर्ने, पाठअनुसार थप सिकाईका कुरा गर्ने र विद्यार्थीले नबुझेका कुरामा छलफल हुनु राम्रो छ । तर यो विधि पनि मिनी कक्षा सन्चालन नै हो । प्रत्येक विद्यार्थीका घरमा पुग्न सके सबैभन्दा उत्तम हुने छ तर त्यो सम्भव हुँदैन । त्यसैले भाइरसको जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीको नियम र परिधि भन्दा बाहिर गएर गरिने क्रियाकलापले निम्त्याउने जोखिमको जिम्मेवार को हुने ? यस्तो गम्भीर प्रश्नको समाधानसहित शिक्षकहरु परिचालन गरिनु पर्दछ । अन्य विद्यालयहरु भन्दा फरक शैली पक्कै पनि उदाहरणीय छ । विद्यार्थी र अभिभावकप्रति जिम्मेवार विद्यालय परिवारको सक्रियताको प्रशंसा नै गर्नु पर्दछ । तर जोखिमप्रति पनि सतर्क रहनु आवश्यक हुन्छ ।