लागूऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

हेटौंडाः ईन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा तस्करी गरेको अवस्थामा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान ५ बजेको समयमा हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा विशेष सूचनाको आधारमा ट्याङ्करबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनँएको छ ।

हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको ट्याङकरलाई रोकी सुरक्षाजाँच गर्दा तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा एक सय २८ किलो फेला परेको हो । प्रहरीले ट्याङकर चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने वर्ष २७ का एमामुल हक देवान र सोहि ट्याङकरमा सवार २४ वर्षीय मोहरवान अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–६, लोथरखोलाको गोरेटो बाटोमा चितवन जिल्ला राप्ती नगरपालिका–११ बस्ने ३५ वर्षीय शिव तामाङलाई लागूऔषध गाँजा ७० किलोसहित नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार राती पौने १ बजेको समयमा तामाङलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।