नगरप्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै इस्टु हेटौँडा उपमहानगर समितिका अध्यक्ष नवीन मिश्र ।

हेटौंडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडा उपमहानगर समितिले हेटौँडा उपमहानगरपालिकालाई निजी विद्यालयका शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षा सम्बन्धमा ७ बुँदे सुझावपत्र पेश गरेको छ । युनियनका अध्यक्ष नवीन मिश्रले सोमबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामालाई सुझावसहितको ज्ञापनपत्र बुझाउनु भएको हो ।

मिश्रका अनुसार निजी विद्यालयलमा चरम लापरवाहि भएका कारण पालिकामा ज्ञापनपत्र बुझाइएको हो । युनियनले नगरलाई अभिभावकको रुपमा नेतृत्व गरी नियमन गर्न र समस्या समाधान गर्न अनुरोध गरेको छ । समस्या समाधानका लागि सरकार, प्याब्सनसँग छलफल, वार्ता र सहमति गरेपनि यसको पालना नभएको मिश्रले बताउनुभयो । नगरमा निजी विद्यालयमा कार्यरत शिक्षकहरुको कोहि नभएको उहाँको भनाई छ ।

युनियनले शिक्षक कर्मचारीहरुलाई निश्चित मापदण्ड अनुरूप नियुक्ति र स्थायी गरिने समय तोकेर नियुक्तिपत्र दिने विषय, शिक्षकहरु करारमा राखिनु नहुने, वार्षिक सुत्केरी, किरिया विदाको व्यवस्थापन तथा शिक्षक कर्मचारीको अभिलेख सरकारी निकायमा रहने विषयमा सुझाव दिएको छ । यस्तै, नेपाल सरकारले तोके अनुसारको तहगत पारिश्रमिक तथा चाडवाड भत्ता दिइने विषय विद्यालय व्यवस्थापन समिति बनाउने, शिक्षकहरुले छानेको शिक्षक प्रतिनिधिको व्यवस्था गरिने र शिक्षक कर्मचारीहरुलाई अनिवार्य सहभागी गराई विद्यालय विनियमावली बनाउन आग्रह गरिएको छ ।

खाइपाई आएको तलब सरकारले तोकेबमोजिम नघट्ने गरी र विगतमा भएका सकारात्मक व्यवस्थामा असर नपर्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने विषय र शिक्षा सार्वजनिक वस्तु भएकोले व्यापारीकरण हुन नदिन सुझाव दिइएको हो । संस्थागत विद्यालयसँग सम्बन्धित नीतिनियम बनाउँदा तथा छलफल, गोष्ठी आदिमा विशुद्ध पेसागत युनियनलाई अनिवार्य सहभागी गराउने विषय र विद्यालयहरू निरीक्षण, अनुगमन नियमन गर्नका लागि युनियनको समेत सहभागिता रहने गरी एक अधिकार प्राप्त नियमित प्रकृतिको उच्चस्तरीय संरचना बनाउन आग्रह गरिएको छ ।

युनियनले २०७९ साल पुस १६ गते मकवानपुर जिल्लाका दुई स्थानीय सरकार हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाबीच सहमति गरेको थियो । दुई स्थानीय सरकारसँग १६ वटा बुँदाहरुमा सहमति गरेको थियो । नगर प्रमुख लामाले सहमतिप्रति सकारात्मक सुझाव दिनु भए तापनि कार्य कहिले नभएको मिश्रले बताउनुभयो । समितिले गत वर्षपनि विभिन्न शिक्षक संगठनहरुसँग भएको सहमति कार्यान्वयनमा जोड दिन माग गर्दै नगर प्रमुखलाई स्मरण गराएको छ ।

ज्ञापनपत्रमा युनियनले प्रमुखलाई विगतमा हेटौँडा उपमहानगरपालिका, गढी गाउँपालिका, शिक्षक महासंघ, शिक्षक सङ्गठन, शिक्षक संघ, शिक्षक अभिभावक संघ, संस्थागत विद्यालय, अभिभावक संघ, लगायत अन्य सरोकारवालाहरुको रोहवरमा भएको १६ बुँदे सहमतिमा भएको उपलब्धिको विषयमा जानकारी दिन अनुरोध गरेको छ ।