हेटौँडाः मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालविवाह अन्त्यका लागि समुदाय परिचालन तथा बालमैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतनामूलक अभिमुखीकरण कार्यक्रम भएको छ । आइतबार मकवानपुरगढी–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा बालबालिकामा मानसिक, शारीरिकरुपमा कस्ता असर पर्छन् भने विषयमा सहजीकरण गरिएको थियो । साथै, सचेतनामूलक भिडियो पनि विद्यार्थीलाई देखाइएको थियो । बालश्रम, बालअधिकार, अनलाइन दुव्र्यवहार तथा मोबाइलको सही प्रयोग कसरी गर्ने, लागूपदार्थ दुव्र्यसनी र यसका नकारात्मक असर, साइबर अपराध कसरी हुन्छ, यसबाट जोगिन के के गर्नुपर्छ भन्ने विषयवस्तुमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा कक्षा ८, ९ र १० का २५ जना छात्र र २५ जना छात्राको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सिविन बाल हेल्पलाइन हेटौँडाका प्रशिक्षक सम्झना अधिकारीले गर्नु भएको थियो । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा १४ गते १ नम्बर, १६ गते ६ नम्बर र १८ गते ५ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिसकिएको छ । अब २, ४, ७ र ८ नम्बर वडामा सहजीकरण गर्न बाँकी रहेको छ ।
कार्यक्रम ३ नम्बर वडाध्यक्ष भागवत घिमिरेको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा सदस्य प्रेमबहादुर थोकर, भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईं, भानु माध्यमिक विद्यालय प्रधानाध्यापक राजेन्द्र थापा, बाल क्लबका अध्यक्ष, सचिव, सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक शाखा प्रमुख सावित्री सापकोटा र सामाजिक विकास अधिकृत सूर्यबहादुर रहनुभएको छ ।