हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–९ स्थित सप्तकन्या आधारभूत विद्यालय (आवि) को नवनिर्मित दुई कोठे शैक्षिक भवन र शौचालयको उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री मोक्तानले गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षक मात्र नभई अभिभावकहरुको पनि सक्रियता अनिवार्य रहेको बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि गुणस्तरीय शिक्षा जरुरी बताउनुभयो । विद्यालयमा अभिभावकको चासो र शिक्षकको मिहिनेत नभएमा भौतिक संरचना मात्र बनाएर अर्थ नहुने उहाँको भनाई छ । सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को २५ लाख रुपैयाँमा बनेको दुईकोठे भवन र चालू आर्थिक वर्षको १० लाख रुपैयाँ लागतमा निर्मित शौचालयको उद्घाटन भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितमान बलको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, गाउँपालिका सामाजिक विकास संयोजक एवम् ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ९ नम्बर वडाध्यक्ष पूर्णमान घलान, २ नम्बर वडाध्यक्ष जनक पहरी र विद्यालयका प्रधानाध्यापक सौगात भोलन लगायतको उपस्थिति रहेको थियो ।