हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयमा बाल विवाहसम्बन्धी अन्तरक्रिया भएको छ । आइतबार महिला तथा बालबालिका सरोकार केन्द्र र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा ट्रस्टको संरक्षणमा गठित पैरवी समूह, मकवानपुरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
बाल विवाहलाई कम गर्ने र जनचेतना बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महेन्द्र माविका विद्यार्थीले विभिन्न प्रश्न सोधेका थिए भने जनप्रतिनिधिहरुले सो प्रश्नको उत्तर दिएका थिए ।
वडा अध्यक्ष लामाले बालविवाह रोक्ने भूमिका निर्वाहको विषय र वडाले गरेको प्रयासको बारेमा प्रष्ट पार्नुभएको छ । उहाँले पढाइलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । आपूmले आफैंलाई नियन्त्रणमा राख्न, जीवनवृत्तिमा ध्यान दिन र जीवनमा सकारात्मक पक्षप्रति ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो ।
बाल विवाहको अर्को कारण सामाजिक सञ्जाल पनि रहेको भन्दै वडा अध्यक्ष लामाले अहिलेको बालबालिकामा हुने छिटो शारीरिक विकासले पनि बाल विवाहलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले वडाले बालबालिकालाई सम्झाउने, रोक्ने, जनचेतना जगाउने गरेको भन्दै उमेर नपुगी विवाह भई हालेमा उमेर नपुगुञ्जेल अलग–अलग राख्ने गरेको बताउनुभयो । वडामा विवाह दर्ता गर्नुपर्ने उमेरमा सम्बन्धविच्छेद दर्ता गर्न आउने गरेको वडा अध्यक्ष लामाको भनाइ छ ।
यस्तै, पदमपोखरी अस्पतालका इन्चार्ज शेरबहादुर ब्लोनले बाल विवाह गरेपछि स्वास्थ्यमा हुने असरको बारेमा बताउनुभएको थियो । बाल विवाह गरेपछि किशोरकिशोरीमा शारीरिक र मानसिक तनाव धेरै हुने गरेको उहाँले बताउनुभयो । बालबालिकाले सानै उमेरमा बच्चा बोकेर औषधी खुवाउन आउने गरेको उहाँको भनाइ छ ।
गत चैतमा गठन भएको पैरवी समूह मकवानपुरको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठ, प्रहरी शेरबहादुर नायक र सिर्जना चौधरी, पदमपोखरी अस्पतालका इन्चार्ज शेरबहादुर ब्लोनलगायतको आतिथ्य रहेको थियो ।