हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १५ औं अधिवेशन असार २ गते हुने भएको छ । शुक्रबार बसेका ४४ औं कार्यपालिका बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरणसहितको प्रस्ताव अधिवेशनमा पेश गर्ने निर्णय भएको हो ।
कार्यपालिका बैठकले अघिल्लो कार्यपालिका बैठकबाट भएका निर्णयहरुको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरी प्रगतिको बारेमा छलफल भएको थियो । बैठकले हेटौंडा उपमहानगरपालिकाको स्वीकृत संगठन संरचना तथा दरबन्दी तेरिजभन्दा बढि तथा कार्यालयलाई आवश्यक नरहेका पदका स्थायी कर्मचारीहरुलाई सम्बन्धित निकायहरुमा फिर्ता पठाउन बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गर्ने निर्णय भएको छ ।
बैठकले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडा नम्बर–१० मा निर्माण भएको व्यावसायिक भवनको बिल भुक्तानीको भेरिएसन स्वीकृत गर्ने निर्णय गरेको छ । रोजन निर्माण सेवा प्रालि कीर्तिपुर, काठमाडौंसँग २०७६ जेठ १६ गतेको सम्झौताबमोजिम कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी हुने क्रममा पाइएको भेरियसन स्वीकृत गर्ने निर्णय भएको हो । निर्माण कम्पनीबाट ३६.८७ प्रतिशत कम काम भई भेरिएसन भएको बैठक निर्णयमा उल्लेख छ । उक्त भेरिएसनलगायत अन्य भेरिएसनको अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर कार्यपालिकाको गत फागुन १६ गतेको बैठकको निर्णयानुसार गठित समितिले गत बैशाख ३१ गते प्रतिवेदन बुझाएको थियो ।
बैठकमा गत असार १६ गते नगरसभाले स्वीकृत गरेको संगठन संरचना र दरबन्दी तेरिजलाई पुनरावलोकन गरी आगामी नगरसभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको छ । यस्तै, जनस्वस्थ्य सेवा ऐन, २०७५ को परिच्छेद ३ को दफा २१ को उपदफा (७), (८), जनस्वस्थ्य नियमावली, २०७७ को परिच्छेद–४ को नियम १२ को उपनियम (२), (३), (४) र (५) तथा हेटौडा उपमहानगरपालिकाको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरणसम्बन्धी कार्यविधि, २०७६ को परिच्छेद–२ को दफा ३ को उपदफा (१), दफा ५ को उपदफा (१), (२), (३), (४) र हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य ऐन, २०७९ बमोजिम गठित प्राविधिक समितिको निर्णयबमोजिम जनस्वास्थ्य शाखाबाट पेश भएका स्वास्थ्य संस्थाहरुलाई उल्लेखित कानुनबमोजिम सञ्चालन अनुमति प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा उपमहानगरपालिका विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७९ को पहिलो संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय भएको छ ।
कार्यपालिका बैठकले बागमती प्रदेश सरकारबाट जारी भएको वातावरण संरक्षण ऐन, २०७७ को दफा ४ को उपदफा (२) (घ), हेटौंडा उपमहानगरपालिका वातावरण संरक्षण ऐन, २०७७ तथा हेटौंडा उपमहानगरपालिका संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ बमोजिम गठित प्राविधिक समितिको गत बैशाख ३० गतेको निर्णयानुसार हेटौंडा उपमहानगरपालिका वडा नं. १६ आकाशधारा सडकखण्ड स्तरोन्नति कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।