हेटौँडाः चोरीको मोटरसाइकलसहित छ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको मोटरसाइकलसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरु खोजी गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले जेठ २ गते हेटौँडा–१६ बाट हेटौँडा–१५ का २० वर्षीय मिलन पाख्रिन र हेटौंडा–१६ का ३० वर्षीय रत्न बहादुर गोलेलाई बागमती प्रदेश ०२–०३ प २१९६ नम्बरको चोरीको मोटरसाइकल फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल बकैया–८, का १९ वर्षीय संजिव भोलनले बिक्री गरेको भनेर बताएको थियो । प्रहरीले भोलनलाई खोजी गर्ने क्रममा उनको साथबाट बागमती प्रदेश ०२–०४१ प ३९०८ नम्बर प्लेट भएको २२० सीसीको चोरीको मोटरसाइकल फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलहरु बकैया–८ का ३३ वर्षीय रमेश लोप्चन र इन्द्रसरोवर–५ का २९ वर्षीय सुवास बोम्जनले दिएको भनेर प्रहरीलाई बताएको थियो ।
भोलनको साथबाट फेला परेको मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जाहरु हेटौँडा–१९ का अशोक स्याङ्तानलाई विक्री गरेकोे र स्याङ्तानले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नम्बरको मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखेर स्वरुप परिवर्तन गरेको बताएको थियो । मोटरसाईकल चोरी गर्ने साँचोसहित छ जनालाई पक्राउ गरेर जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । प्रहरीले बागमती प्रदेश ०२–०३८ प ७५८१ नम्बरको एनएस र बागमती प्रदेश ०२–०३३ प ६०२० नम्बरको डुक मोटरसाइकल पनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ ।