बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले देशको वर्तमान शिक्षा प्रणाली परिवर्त न हु नु पर्ने बताएका छन् । आइतबार बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय उद्घाटन गर्दै बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् । आफूले लगानी गरेर पढेको शिक्षाले जीवन धान्न नसक्ने र आत्मनिर्भर नहुने मनस्थितिको अन्त्य हुनुपर्ने मुख्यमन्त्रीको भनाइ छ । शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपर्नेहरुले नै कन्सल्टेन्सीसँग मिलेमतो गरी विद्यार्थीलाई विदेश पठाउने गरेको उनको आरोप छ । शैक्षिक संस्थाले कोटा तोकेर प्रवेश परीक्षा लिने गरेका कारण विद्यार्थीले चाहेको विषय पढ्न नपाएको उनको भनाइ छ । मुख्यमन्त्रीले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्न प्रदेश सरकारले लडाइँ लड्ने भने पनि यो भाषणमै सिमित हुने निश्चित छ । सशस्त्र द्वन्द्वको क्रममा बुर्जुवा शिक्षाको विरुद्धमा लागेकाहरु नै पछिल्लो दुई दशकमा पटकपटक सत्तामा पुगेको भए पनि शिक्षा प्रणाली सुधार्न कुनै प्रयास नहुनुले यसलाई पुष्टि गर्दछ ।

भाषणमा आकर्षक कुरा गर्नेहरुले कुनै उल्लेख्य काम गर्न सकेको पाइँदैन । देशको शिक्षा प्रणालीमा धेरै सुधार आवश्यक भए पनि त्यो हुन सकेको छैन । देशको समग्र शिक्षा प्रणाली सुधारको पहिलो खुट्किलोको रुपमा रहेको संघीय शिक्षा ऐनको टुंगो छैन । संघीयता कार्यान्वयन भएको सात वर्ष, गणतन्त्र कार्यान्वयन भएको डेढ दशक, पञ्चायती शासन अन्त्य भएर प्रजातन्त्र पुनःस्थापना भएको ३५ वर्षसम्म पनि नयाँ शिक्षा ऐन आउन सकेको छैन । २०२८ सालको पञ्चायतकालीन शिक्षा ऐनकै भरमा शिक्षा प्रणाली चलुञ्जेलसम्म शिक्षामा परिवर्तन ल्याउने कुरा निरर्थक हुनेछ । नयाँ संविधानले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको अवस्थामा संघीय सरकारले सोअनुकूलको ऐन नल्याउँदा स्थानीय तहले प्रभावकारी काम गर्न सकेका छैनन् । स्पष्ट ऐन नियम नहुँदा संघ, प्रदेश र स्थानीय सरकारबीच दुई पक्षीय र तीन पक्षीय साझा अधिकारको सूचीमा परेका शिक्षासम्बन्धी विषयहरुको कार्यान्वयनमा झनै समस्या भइरहेको छ ।

सार्वजनिक शिक्षालाई सबल नबनाउँदासम्म मुलुकको शिक्षा प्रणालीमा सुधार सम्भव छैन । शिक्षा प्रणालीको सुधारबिना शिक्षाको सार्थकता रहँदैन । देशको नागरिकको स्तर त्यस देशको शिक्षा प्रणालीमा निर्भर रहन्छ । हाम्रो शिक्षा प्रणाली व्यवहारिक र वैज्ञानिक छैन । मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए पनि अहिलेसम्म त्यसको कुनै लक्षण देखिएको छैन । मुलुकको शिक्षा प्रणालीप्रति विद्यार्थीको आकर्षण छैन । वर्षेनि लाखौं विद्यार्थी उच्च शिक्षाको लागि विदेशिने क्रम बढ्दै जाँदा मुलुकका शैक्षिक संस्था विद्यार्थीविहीन बन्न थालेका छन् । भएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको खडेरी लागिरहँदा संघ र प्रदेश सरकार नयाँ–नयाँ विश्वविद्यालय स्थापनामा अग्रसर भइरहेका छन् । भएका विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्न नसकेको अवस्थामा नयाँ विश्वविद्यालय खोलेर भर्तीकेन्द्र बनाउनेबाहेक खासै उपलब्धि हुने सम्भावना देखिँदैन ।

विगतमा मुलुकको शिक्षा प्रणालीका कारण यहाँका शैक्षिक संस्थालाई शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना भन्ने गरिन्थ्यो । यसै भएर देशभर प्राविधिक र व्यावसायिक शिक्षाको विकास गर्नुपर्ने आवाज उठ्यो । सरकारले कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन सुरु गर्नुका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा विद्यालय तहमा विभिन्न प्रकारका प्राविधिक शिक्षा दिन थाल्यो । पछिल्लो समय ती प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको संख्यासमेत न्यून हुँदै जानुले शिक्षा प्रणाली साँच्चै परिवर्तन गर्नुपर्ने देखिएको छ । अहिलेको शिक्षा प्रणालीले विदेश जाने कामदार र विद्यार्थीमात्र उत्पादन गरिरहेको मान्न सकिन्छ । विद्यार्थीलाई आफ्नै भूमिमा श्रम गरेर खाने ज्ञान तथा सीप सिकाउन सकिएको छैन । स्वरोजगारमूलक काममा भन्दा जागिरको मोह आम शिक्षित वर्गमा देखिन्छ । यसो हुनुमा मुलुकको शिक्षा प्रणालीको असफलता नै प्रमुख कारण भएकाले भाषण र कुरामा नभई वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्न साँच्चै गम्भीर भएर लाग्नु आवश्यक छ ।