हेटौंडाः नेपाल बाल संगठन अन्तर्गत्को मकवानपुर बाल मन्दिरमा आश्रित बालबालिकाको संख्या शून्य भएको छ । भीमफेदी बाल मन्दिरमा रहेका बालकहरू स्थानान्तरण भएसँगै बालबालिकाको संख्या शून्य भएको बाल मन्दिरका अध्यक्ष अशोक सारू मगरले जानकारी दिनुभयो ।
नेपाल बाल संगठन देशका ७७ जिल्लामा शाखा भएको सेवामूलक संस्था हो । टुहुरा, अनाथ, घरबारविहीन र अभिभावकविहीन अवस्थाका बालबालिकाहरूको संरक्षण, पालन पोषण, स्वास्थ्य र शिक्षा निःशुल्क रुपले दिने मूल उद्देश्यका साथ नेपाल बाल संगठनको स्थापना भएका हो । यसले देशका सम्पूर्ण जिल्लामा रहेर कार्य गर्दै आएको छ । सोहीअन्तर्गत मकवानपुर जिल्लामा वि.स. २०५६ सालबाट भीमफेदीको बाल मन्दिरमा बालबालिकाका क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष मगरको भनाइ छ ।
संगठन मकवानपुरमा बालबालिकाहरुलाई संरक्षण गर्दै आएकोमा एसइई परीक्षामा सम्मिलित भई बिदा भएर जाने र पारिवारिक पुनर्मिलन भएर बालबालिका गएसँगै बालबालिकाका सख्या घटेको हो । संगठनमा मकवानपुरमा ११ जना बालक रहेका थिए । जुन बालगृह सञ्चालन कार्यविधिअनुसार २० जनाभन्दा कम संख्या भएको र बालमन्दिरमा रहेका बालबालिकाहरूलाई नक्साल स्थानान्तरण गरिएको हो । आइतबारबाट बालकहरू स्थानान्तरण भएसँगै बालमन्दिरमा बालबालिकाको संख्या शून्य भएको हो । संगठनले अनाथ, परिवारविहीन बालबालिकालाई संरक्षण गर्ने, अभिभावकको भूमिका निर्वाह गर्ने काम गर्दै आएको हो ।
संगठनले बालबालिकाले अनाथालयमा, बालगृहमा बस्ने नभई परिवारमा स्थापित गराउने प्रयाससमेत गरिरहेको उहाँका भनाइ छ । भीमफेदी बाल मन्दिरमा ३५ जना बालबालिका अट्ने संरचना र ४ जना कर्मचारी रहेका थिए । उक्त संरचनामा प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा बालग्रामको रुपमा स्थापना गरी कार्य गर्ने उहाँको भनाइ छ । अध्यक्ष थापा मगरले भन्नुभयो, ‘आफू २०७८ सालबाट अध्यक्ष भएपश्चात् ३७ जना बालबालिकालाई संरक्षण दिएको, अहिले बाल मन्दिरको संरचना रहेको स्थानमा संरचना खेर जान नदिन नयाँ अवधारणाका साथ कार्य गर्ने बताइएको छ । अध्यक्ष थापा मगरका अनुसार सन्तानविहीन दम्पतिको लागि संगठनका कार्यविधिअनुसार सन्तानसमेत उपलब्ध गराइएको छ ।