हेटौंडाः नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलो रोग मुक्त गर्ने लक्ष्य लिएको छ । १७ औं विश्व औलो दिवसको अवसरमा बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय एवम् जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा सचेतनामूलक कार्यक्रम गर्दै औलो रोग निवारणको लक्ष्यबारे जानकारी दिएको हो ।

औलो निवारण कार्यक्रममा सरकारले सन् २०२५ सम्म औलो रोग मुक्त गर्ने लक्ष्य लिएको एन्टोमोलोजिस्ट रहचन घर्ती मगरले जानकारी दिनुभएको छ । औलो रोग निवारणका लागि आवश्यक रणनीतिक सूचना सुदृढीकरण, भेक्टर नियन्त्रण तथा भेक्टर खोजपड्ताललाई चुस्त पारी औलो सर्ने दरलाई घटाउने उहाँको भनाइ छ । औलोको गुणस्तरीय निदान तथा प्रभावकारी उपचारमा पहुँच वृद्धि गर्दै औलो निवारणका लागि राजनैतिक नेतृत्व र प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण गर्ने एन्टोमोलोजिस्ट मगरले बताउनुभयो ।

औलो निवारणका गतिविधि बारेमा जनचेतना अभिवृद्धि गरेर औलो निवारणमा सहयोग पु¥याउन हरेक वर्ष अप्रिल महिनाको २५ तारिखमा विश्व औलो दिवसम मनाउने गरेको उहाँले बताउनुभयो । नेपाल औलो रणनीतिक योजनाअनुसार २०१४ देखि २०२५ सम्मको लक्ष्य हासिल गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने, औलो रोगको वस्तुस्थितिको बारेमा जानकारी गराई रोग निवारणका लागि जोड दिनुपर्ने पक्षमा चर्चा गर्ने र निर्धारित समयमै रोगको निवारण गर्न राजनीतिक प्रतिबद्धता एवम् सामुदायिक सहभागिता सुनिश्चित गर्ने उहाँले बताउनुभयो ।

उहाँले औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि र औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने र स्थानीय औलोको शून्य मृत्युदरलाई कायम राख्ने बताउनुभयो । औलो रोगबाट बच्न एकीकृतरुपमा किटजन्य रोग व्यवस्थापन, जोखिममा रहेका व्यक्तिहरुमा झुल तथा रोग सर्ने ठाउँको पहिचान र विषादीजन्य औषधीको प्रयोग गरेर रोग सर्ने स्थानलाई नष्ट गर्ने बताउनुभयो ।

गत आर्थिक वर्षमा बागमती प्रदेशको ४६ वटा ठाउँहरुमा औलो रोग देखिएको उहाँको भनाई छ । गत आर्थिक वर्ष २०७९÷८० सम्म औलोको वर्गीकरण अनुसार ५ सय २८ औलो रोगीको संख्या देखिएकोमा भारतबाट ४ सय ११ संक्रमित बढेको बताइएको छ । आयातित औलो ५ सय ५, अन्य देशमा ९४ र वीरेन्द्र आर्मी अस्पतालमा ३६ जनामा देखिएको बताइएको छ ।

सन् २०२१ को तथ्याङ्कअनुसार औलो रोगको ३ सय ३६ जना बिरामी महाराष्ट्रमा २ सय २४, गुजरातमा ५४, उत्तर प्रदेशकमा १९ जना दिल्लीमा १० जना, पश्चिम बंगालमा ६ जना, राजस्थान, तमिलनाडु, उत्तर खण्डमा ४ जना, गोवामा ३ जना, हरियाणामा ३ जना, बिहारमा २ जना, आन्ध्रप्रदेशमा एक, कर्नाटकमा एक र मध्य प्रदेशमा १ गरी ३ सय ३६ जनामा औलो रोगको समस्या देखिएको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा कार्यालय प्रमुख कृष्णा मिजारले औंलो रोग निवारणका लागि प्रदेश, जिल्ला र पालिकास्तरसम्म टास्क फोर्सको गठन तथा परिचालन गर्ने बताउनुभएको छ । कार्यालय प्रमुख मिजारले रोग परीक्षणको गुणात्मक नियन्त्रणको लागि प्रदेशस्तरीय व्यावस्थापन गर्ने बताउनुभएको छ । निजी सेवा प्रदायकहरुको औलो कार्यक्रममा अनिवार्य सहभागिता, स्वास्थ्यकर्मीहरुमा औलोको नियमित र उपयुक्त जाँच, खोजपडताल र उपचारको क्षमता अभिवृद्धि र स्थानीय तहमा औलो कार्यक्रमको लागि बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।