बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४, पाँचपाण्डवस्थित पञ्चकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आशीष बल सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सम्पन्न अभिभावक भेलाबाट चयन भएका ४ सदस्यीय समितिबाट बल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

बुधबार भएको अभिभावक भेलामा प्रत्यक्षतर्फ आशीष लामा बल, लालबीर थिङ, एलिना माझी र जितुमाया थिङ सर्वसम्मत चयन हुनुभएको थियो । चयन हुनु भएका चार सदस्य, वडा अध्यक्ष तथा वडा शिक्षा संयोजक दन्तलाल माझी ,समिति सचिवव सुबर्ण वाईबा र शिक्षक प्रतिनिधि सुशीला माझीको बैठकले नौमान स्याङ्तान र सुनिता मोक्तान जिम्बालाई सदस्यमा मनोनित गर्नुभएको छ ।

बागमती गाउँपालिकाका शिक्षा शाखा संयोजक कमान सिं पाख्रिनले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई खादा लगाएर बधाई दिनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ । आफू पहिलो कार्यकालमा व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा र स्मार्ट कक्षाकोठा सञ्चालन गर्न सफल भएको अध्यक्ष बलले बताउनुभयो । विद्यालयमा शिक्षासँगै अन्य पक्षहरू सुधारका लागि अभिभावकहरुले आफुलाई विश्वास र आशाका साथ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको बताउनुहुँदै उहाँले यो कार्यकालमा अझ थप काम गरिने प्रतिबद्धता जनाउनुभयो । कक्षा ८ सम्म पाठनपाठन हुने विद्यालयमा २ सय ३३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा बागमती–४ का निवर्तमान अध्यक्ष रहरसिङ थिङ, वडा सदस्यहरु उर्मिला बिक, हेमबहादुर थिङ, विद्यालयको पूर्व व्यवस्थापन समितिक अध्यक्षहरु भक्तबहादुर माझी, यानबहादुर पाख्रिन, भूमिलाल माझी, जयबहादुर वाईबा, सुक्रम भोलन र सुदिप पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।