दीक्षान्त समारोहमा गीत गाउँदै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । मंगलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावकले समेत नृत्यु प्रस्तुत गरेका थिए । विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल मफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो । गत शनिबार नवोदयले कक्षा १ को पाठ्यक्रममा आधारित रही विद्यार्थीलाई “म र मेरो वरपर” सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो ।