हेटौँडाः नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको आयोजनामा हेटौँडामा पाँचौँ जुनियर तथा युवा रेडक्रस शिविर भएको छ । सोमबार हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा भएको शिविर कार्यक्रमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका युवा स्वयम्सेवक वामदेव गौतमले सोसाइटीले गत आर्थिक वर्ष २०७९/०८० सम्म २ लाख ८१ हजार ३ सय १६ युनिट रगत संकलन गरेको बताउनुभएको छ । उहाँले दुर्घटनामा परेर धेरै रगत बगेको, शल्यक्रियाको अवस्थामा आवश्यक परेको, विभिन्न प्रकारका क्यान्सर रोगहरु लागेको, हेमोफिलिया, एनेमिया, थेलेमिया, नवजात शिशुमा रगतसम्बन्धी र पोलियोको बिरामीहरुलाई रगतको आवश्यकता पर्नसक्ने बताउनुभयो ।
उहाँले रक्तदान गर्नका लागि व्यक्तिको उमेर १८ वर्षदेखि ६५ वर्षसम्म हुनुपर्ने बताउनुभएको छ । शरीरको न्यूनतम तौल ४५ किलोग्राम, हेमोग्लोबिन न्यूनतम १२ ग्राम प्रतिशत, रक्तचापको अवस्था सामान्य र कुनै पनि रोग नलागेको हुनुपर्ने गौतमले बताउनुभयो । महिनावारी भएको ८ दिनसम्म महिलाले रक्तदान गर्न नहुने उहाँले बताउनुभयो । विभिन्न प्रकारका दीर्घ रोगहरु लागेको र क्यान्सर, मुटुरोग, असामान्य रक्तश्रावको अवस्थामा रक्तदान गर्न नमिल्ने उहाँले बताउनुभयो ।
कार्यक्रमअघि हेटौँडा बजार क्षेत्रमा प्रभातफेरीको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेशका १३ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीको सभाध्यक्ष रहेको थियो । उद्घाटन कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्रालयका खगेश्वर गेलाल, रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा, सोसाइटीका जिल्ला शाखा सभापति लालबहादुर थापा र युवा रेडक्रस सर्कल वन विज्ञान क्याम्पसकी अध्यक्ष कृतिका लौडारीलगायतको उपस्थिति रहेको थियो ।