शपथग्रहण गर्दै नवनियुक्त मन्त्रीहरु ।

हेटौँडाः बागमती प्रदेशमा एमालेका ४ जना मन्त्री थपिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका ४ जना मन्त्री नियुक्त गर्नु भएको हो ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एका लाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुसँगै बागमती प्रदेशले पूर्णता पाएको छ । १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ जना मन्त्री नियुक्त भइसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार मात्रै एकीकृत समाजवादीकी रमा आलेमगरले बिना विभागीयमन्त्रीमा नियुक्त गरी मंगलबबार बिहान शपथग्रहण गराउनुभएको थियो । कांग्रेसले छाडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व पाएको छ भने हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसक्नुभएको छ । चैत १७ मा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको थियो ।