रोटरी क्लबका पदाधिकारीहरु हेटौँडा अस्पताललाई इसिजी मेसिन हस्तान्तरण गर्दै ।

हेटौँडाः रोटरी क्लब अफ मकवानपुरले हेटौँडा अस्पताललाई इसिजि मेसिन हस्तान्तरण गरेको छ । मंगलबार एक समारोहबीच क्लबका अध्यक्ष अञ्जनी कुमार पराजुलीसहित क्लबका पदाधिकारीहरुले अस्पतालका निमित्त मेसु श्रीधर अर्याललाई ७ लाख रुपैयाँ बराबरको २ वटा इसिजी मेसिन हस्तान्तरण गरेको हो ।

हेटौँडाका जनतालाई उपचार गर्ने क्रममा केही सहयोग पुग्ने अपेक्षा गरेर ग्लोबल ग्रान्टको सहयोगमा मेसिन सहयोग गरिएको रोटरी क्लबका अध्यक्ष पराजुलीले जानकारी दिनुभएको छ । हृदयरोगको कारणले गर्दा मानिसहरुमा जटिल असर गर्ने भएकोले हृदयरोगको उपचारमा उपयोगी उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो । क्लबले करिब ९ महिना अगाडि सुरु भएको ग्लोबल ग्रान्टको सहयोगमा क्लबका निवर्तमान अध्यक्षको कार्यकालको अन्तिम दिन ९० लाख रुपैयाँ बराबरको इकोकार्डियो मेसिन सहयोग गरेपनि प्रयोगमा आउन सकेको छैन । हेटौँडा अस्पतालमा सबैजनासँग सहकार्य गरेर कार्डियोलोजिस्ट ल्याउने पहल गरेपनि सफल हुन नसकेको बताइएको छ ।

अस्पतालका निमित्त मेसु अर्यालले इसिजी मेसिन सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । ९ महिना पहिले अस्पतालमा सामग्री प्राप्त भएपनि प्रयोगमा नआउनु दुखद् भएको उल्लेख गर्नुहुँदै आफूले अस्पतालमा काम गर्दासम्म अस्पतालमा सहयोग भएको सामानहरुलाई प्रयोगमा ल्याउने काममा जोड दिने उहाँको भनाई छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति र वरिष्ठ पत्रकार प्रताप विष्टको पनि उपस्थिति रहेको थियो ।