महासंघका अध्यक्ष मणिराज गौतमलाई ज्ञापनपत्र बुझाउँदै युनियनका अध्यक्ष सुवास विडारी ।

हेटौँडाः प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी चैत २५ गते हुने अधिवेशन रोक्न माग गरेको छ । मंगलबार युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई ज्ञापनपत्र बुझाउनहुँदै उक्त अधिवेशन रोक्न माग गरेको हो ।

महासंघ मकवानपुरले सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा क्रियाशील सञ्चारकर्मीहरुलाई नै सदस्यताबाट बञ्चित हुने गरी सिफारिस गरी पठाएको भन्दै युनियनले आपत्तीसमेत जनाएको छ । ‘नेपाली श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियन मकवानपुरको पूर्ण साथ, सहयोग छ । तर, महासंघ मकवानपुरले सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता थप गर्ने सन्दर्भमा सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरूलाई नै सदस्यताबाट बञ्चित हुनेगरी सिफारिस गरी पठाएकोमा हाम्रो गम्भीर आपत्ती रहँदै आएको छ ।’

पत्रकार महासंघले सदस्यता टुंगो नलगाई जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियन केन्द्रीय समितिको हालै सुनसरीमा सम्पन्न बैठकले असहमति जनाउँदै सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । महासंघ मकवानपुरलाई सदस्यता र मतदाता नामावलीको टुंगो लागेपछि मात्र अधिवेशन गर्न युनियनले आग्रह गरेको छ । सदस्यता टुंगो नलगाई अधिवेशन गरेमा उत्पन्न हुने परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ मकवानपुर नै हुने युनियनले चेतावनीसमेत दिएको छ ।