हेटौँडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौँडा उपमहानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ । रास्वपाको बागमती प्रदेशस्तरीय द्रूत कार्य टोलीले आइतबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै कार्यपालिका बैठकको प्रत्यक्षप्रसारण गर्न, निर्णयको विवरण लिखितरुपमा सार्वजनिक गर्न माग गरेको छ ।
“हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक कहिले प्रत्यक्ष प्रसारण गरिने, कहिले नगर्ने, कहिले निर्णय सार्वजनिक गर्ने, कहिले नगर्ने, कहिले आधा सार्वजनिक गर्ने, स्थानीय सरकारको यो कस्तो मनलाग्दी हो ?” ध्यानाकर्षणपत्रमा लेखिएको छ, “हामी पारदर्शिता चाहँछौं तसर्थ बैठकको नियमित प्रत्यक्ष प्रसारण साथै निर्णयहरुको पूर्णलिखित विवरणसहित सार्वजनिक गर्न माग गर्दछौं ।”
रास्वपाले सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको सीसी क्यामराको मर्मत गर्न पनि उपमहानगरको ध्यानाकर्षण गराएको छ । हेटौँडा बजार क्षेत्रमा राखिएका ४८ वटा सीसी क्यामरा मध्ये २५ वटा भन्दा बढी क्यामरा सञ्चालनमा नरहेको जनाउँदै हेटौँडा उपमहानगरपालिकाको बेवास्ताप्रति रास्वपाले भत्र्सना गरेको छ । बिग्रिएका सीसी क्यामरा चाँडो मर्मत गरिदिन रास्वपाले अनुरोध गरेको छ । यस्तै हेटौँडा बजार क्षेत्रमा पार्किङलाई व्यवस्थित गर्न पनि रास्वपाले अनुरोध गरेको छ ।