उपाधि साथ १२ नम्बर वडाको फुटबल टिम ।

गौरीटारः हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तरवडास्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१२ ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा हेटौँडा–७ लाई १–० गोलअन्तरले हराउँदै हेटौँडा–१२ ले उपाधि जितेको हो । हेटौँडा–१२ को तर्फबाट घनजित थिङले दोस्रो हाफको १३ मिनेटमा गरेको गोल निर्णायक बन्यो । म्यान अफ द म्याच निर्णायक गोलकर्ता थिङ घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता वडा–१२ ले एक लाख रुपैयाँ र उपविजेता वडा–७ ले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका वडा–१२ का साजन पाख्रिनले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् सर्वोकृष्ट गोल रक्षक वडा–१२ कै आयुष गोल, उत्कृष्ट डिफेन्डर वडा–७ का रोशन दोङ, उत्कृष्ट मिडफिडर वडा–७ का राजु लामा र उत्कृष्ट फरवार्ड वडा–१२ का राजु पाख्रिन घोषित हुँदै २ हजार ५ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका १७ वटा वडाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा हेटौँडा–१५ वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षमा तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रममा हेटौंडा–११ की वडाअध्यक्ष जुना दहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, महासचिव छवी सुवेदी, नेपाल बुद्धिचाल महासंघका महासचिव धर्म लामा, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको पनि आतिथ्य रहेको थियो ।

पहिलो सेमीफाइनल खेलमा वडा–८ लाई ३–१ गोलअन्तरले हराउँदै वडा–१२ फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा आयोजक वडा–१५ लाई २–१ गोलअन्तरले हराउँदै वडा–७ फाइनलमा प्रवेश गरेको थियो ।