हेटौँडाः हेटौंडा उपमहानगरपालिकाभित्र म्याद गुज्रेको खाद्य सामग्री र लापरबाही तरिकाले सञ्चालन गरिरहेको होटल तथा रेष्टुरेन्टहरुलाई कारबाही गरेको छ । आइतबार, सोेमबार र मंगलबार हेटौँडा–१, २, ४ र १० नम्बर वडाभित्रका होटल र रेष्टुरेन्टहरुमा अनुगमन गरेर कारबाही गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरबाट खटिएको संयुक्त बजार टोलीले हेटौँडाका २६ होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा सरसफाईमा लापरबाही गरेको पाइएपछि हेटौंडा–४ स्थित जयशम्भु मिष्ठान्न भण्डारलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै हेटौंडा–४ स्थित युनिभर्सल रेष्टुरेन्टलाई पनि सरसफाईमा लापरबाही गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना, हेटौँडा–१ स्थित गंगा मिठाई उद्योगलाई ५ हजार रुपैयाँ, हेटौँडा–४ स्थित वृन्दावन मिष्ठान्न भण्डारलाई ५ हजार रुपैयाँ, हेटौँडा–१ स्थित अन्नपूर्ण भोजनालयलाई ५ हजार रुपैयाँ, र हेटौँडा–४ स्थित हिमालयन स्वीट्सलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै अन्य होटल तथा रेष्टुरेन्टमा म्याद गुज्रेको खाद्य सामग्री र पेय पदार्थ नष्ट गरेको जनाएको छ ।