बाल सुधारगृहका लागि सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–११ स्थित बालसुधार गृहमा विभिन्न प्रकार जिन्सी सामग्री हस्तान्तरण गरिएको छ । युनिसेफ नेपालले बुधबार केन्द्रीय बाल न्याय समितिको सचिवालयमार्फत सामग्री हस्तान्तरण गरेको हो । बालसुधार गृहमा रहेका बालविज्याईकर्ताहरुको वृत्ति विकासका लागि सामग्री सहयोग गरिएको युनिसेफ नेपालले जनाएको छ ।

४ वटा डेस्कटप कम्प्युटर सेट, १ थान ल्यापटप, २ वटा टेलिभिजन र ११ थान कुलर हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामग्री ११ लाख ६६ हजार रुपैयाँ बराबरको भएको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले बालविज्याईकर्ताहरुले आफुमा रहको सीप विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाल सुधार केन्द्रको व्यवस्थापनको मोडल पनि समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने सुझाव समेत आएकोले त्यसतर्फ मनन गरिने बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेल, श्रेस्तेदार लेखनाथ पौडेल, युनिसेफ नेपालका कार्यक्रम सहयोगी सुरेश श्रेष्ठ, बाल समाजसेवी शान्ति मोक्तान लगायतको आतिथ्य रहेको थियो । त्यसैगरी प्रारम्भिक बाल विकास संस्था मकवानपुरले पनि सुधारगृहलाई आवश्यक पर्ने खाद्यान्न सहयोग गरेको छ । सुधारगृहमा हाल ६७ जना बालविज्याईकर्ताहरु रहेका छन् ।