महिला उद्यमी प्रदर्शनीमा बहस कार्यक्रममा सहभागी हुने वक्ताहरु ।

हेटौंडाः मकवानपुर उद्योग वाणिजय संघ महिला उद्यमी समितिले पर्यटन कृषि, लघुउद्यम पेशागत, विविध व्यावसायिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता विषयमा बहस कार्यक्रमको आयोजना गरेको छ । आइतबार हेटौंडा–२ स्थित पल्पसा सदनमा जारी महिला उद्यमी प्रदर्शनीमा बहस कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वउपसचिव महेश्वरी विष्ट, सामाजिक विकास अधिकृत चन्द्रा व्यञ्जनकार, अधिवक्ता शान्ति मोक्तान र बैंकर अञ्जली श्रेष्ठले वक्ताको भूमिका निर्वाह गर्नुभएको थियो । बहसलाई प्रतिमा श्रेष्ठले सहजीकरण गर्नुभएको हो ।

बहसमा पूर्वउपसचिव विष्टले करिब ३ दशकअघि महिलाले खुलेर बोल्न सक्ने अवस्था नभएको बताउनुभएको छ । ३ दशकअघिको तुलनामा नेपालमा धेरै कुराहरुमा परिवर्तन आए पनि अझै केही कुराहरुमा सुधार आउनुपर्ने बताउनुभयो । महिलाको अभिभावक भएर साथ सहयोगको काममा सबै लाग्नुपर्ने बताउनुहुँदै उहाँले महिलालाई आफ्नो गुनासो पोख्नका लागि एउटा ठाउँको आवश्यक पर्ने धारणा राख्नुभयो ।

राजनीतिक दलमा आवद्ध हुनेहरुलाई प्रविधिको बारेमा धेरै ज्ञान नहुने भएकाले महिला उद्यमशीलताको महत्वबारे बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ । घरायसी कामको बन्धनमा परेको कारणले गर्दा पनि महिला उद्यमीहरुले पछि परेको बताउनुहुँदै घरायसी कामको बोझ कम भएमा महिलाले बाहिरी काम पनि राम्ररी गर्नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

सामाजिक विकास अधिकृत व्यञ्जनकारले बागमती प्रदेशले महिला र बालबालिकालाई प्रोत्साहन गर्ने काम गरिरहेको बताउनुभयो । महिलालाई प्रोत्साहन गर्नका लागि २०७७ मा जारी कार्यविधिअनुसार प्रदेशबाट महिला उद्यमी छनोट गरेर उत्पादित सामग्रीहरुको रोजगारी दिएको बताउनुभयो । व्यवसायिक लगानीबाट पर्नसक्ने समस्याको मध्यनजर गरेर सबै पालिकाबाट महिलालाई उद्यमी बनाउन प्रस्ताव आह्वान गरेको उहाँले बताउनुभयो ।

सकारात्मक हिसाबले उद्योग, व्यवसायमा सबै महिलालाई अवसर दिने गरेको उहाँले बताउनुभयो । प्रदेशस्तरीय ऐन कानुन निर्माण गर्ने उद्देश्यले १ सय १९ स्थानीय तहका महिलालाई हरेक वर्ष आर्थिक सशक्तिकरणको समस्या समाधान गर्नुपर्ने कुरा मध्यनजर गरेर समिति बनाएर महिलालाई थप हौसला र टेवा पु¥याउन सबै स्थानीय तहलाई पत्राचार गरेर काम गरिरहेको उहाँले बताउनुभयो ।

अधिवक्ता शान्ति मोक्तानले पीडित महिलाहरुले आफूले पाउनुपर्ने अधिकार प्राप्त भए पनि विभिन्न चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो । सबै महिलाहरु आफ्नो अधिकार प्राप्त गर्नका लागि लड्नुपर्ने उहाँले बताउनुभयो । पुरुषको तुलनामा महिलाको जीवनमा धेरै चुनौतीहरु आउने गरेको बताउनुहुँदै ३ वटै तहबाट कानुन निर्माण गर्नका लागि कानुनको कुराहरुलाई प्रदेशमा ल्याउनुपर्ने धारणा राख्नुभयो । कानुनी कुराहरुबारेमा महिलालाई बुझाउन जरुरी रहेको उहाँले औँल्याउनुभयो । कानुनी क्षेत्रमा महिलाको उपस्थिति कम भएका कारणले गर्दा पनि वकालत विषय छनोट गरेको भन्दै महिलाका लागि केही गर्छु भनेर कानुन विषय रोजेको उहाँले बताउनुभयो ।

बैंकर श्रेष्ठले निजी क्षेत्रमा महिलाहरुले बढी मात्रामा काम गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । जिम्मेवारीको कुराहरुमा महिलाहरु बढी सक्रिय हुने उहाँले बताउनुभयो । पुरुष भन्दा पनि बढी महिलाहरु शिक्षामा पछाडि परेको उहाँको भनाइ छ । सरकारले महिलाहरुका लागि समानुपातिक कोटा छुट्याएको उहाँको भनाइ छ । महिला उद्यमशीलताको कार्यलाई अगाडि बढाउनका लागि सरकारले बजेट छुट्याएको उहाँले बताउनुभयो ।