देशमा तीन तहको सरकार हुँदा पनि किसानले साथ र सहयोग पाउन सकेका छैनन् । संघ, प्रदेश तथा स्थानीय सरकार सबैले पनि किसानलाई प्रोत्साहित गर्न पर्याप्त ध्यान दिन सकेका छैनन् । किसानलाई प्रोत्साहन नगरी कृषिको विकास सम्भव छैन । सरकारले कृषि क्षेत्रको विकास र कृषकको हितका लागि प्रभावकारी नीति, कार्यक्रम र बजेट ल्याउन नसक्दा कृषि क्षेत्रमा आशातित विकास हुन नसकेको हो । देशको आर्थिक विकास र समृद्धिको लागि कृषि क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ । नेपालमा धेरै मानिस कृषिमा आश्रित हुनुका साथै कृषिको सम्भावना भएका कारण कृषिप्रधान देश भन्ने गरिएको हो । कृषिप्रधान देशमा किसानहरु नै पीडित बन्नुपरेको छ भने देश कृषिजन्य उत्पादनमा परनिर्भर बनिरहेको छ । मुलुकको हरेक क्षेत्रमा कुनै न कुनै कृषि उत्पादनको सम्भावना रहेको छ । कृषिमा रहेको सम्भावनाबाट लाभ लिनका लागि किसानको हित हुने कार्य गर्नैपर्छ ।
अहिले आफूले उत्पादन गरी बिक्री गरेको दूधको भुक्तानी नपाएपछि देशभरका किसान आन्दोलित छन् । गत बिहीबार देशव्यापी बिरोध कार्यक्रमको क्रममा मकवानपुरका किसानहरुले पनि सडक जाम गरेर बिरोध प्रदर्शन गरेका थिए । ६ महिनादेखि सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी डेरीले किसानसँग खरिद गरेको दूधको रकम भुक्तानी नगरेको भन्दै किसानहरुले देशव्यापी बिरोध कार्यक्रम गरेका हुन् । हेटौंडामा पनि चौकीटोल, कर्रा पुल, सानोपोखरा र राप्ती पुलबाट किसानले बिरोध ¥याली निकालेर बागमती प्रदेशको कृषि मन्त्रालय अगाडि बिरोधसभा गरेका थिए । किसानले उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरसहित देशभरका दुग्ध उत्पादक किसान बिरोधमा उत्रिएका हुन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ दिन बाँकी रहेको छ । किसानहरुले कृषि मन्त्रालयअगाडि विभिन्न नाराबाजी गर्दै कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
किसानले आफूले उद्योगहरुलाई बिक्री गरेको दूधको भुक्तानी नपाएकोमा यसअघि बामगती प्रदेशको कृषि विकास निर्देशनालयमा तालाबन्दीसमेत गरेर बिरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनको सुनुवाई नभएपछि दुग्ध उत्पादक किसान र सहकारी संघ बिरोध प्रदर्शनमा उत्रिएका हुन् । किसानहरुले दूधको रकम भुक्तानी गर्नुका साथै दूध बिक्रीको ग्यारेन्टीसमेत माग गरेका छन् । मिल्क होलिडे अन्त्य गर्दै उत्पादनका आधारमा अनुदानलाई निरन्तरता दिन माग गरेका हुन् । किसानलाई सहुलियत कर्जाको व्यवस्था गरेर दुग्धजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउनसमेत उनीहरुले माग गरेका छन् । सरकारले माग पूरा नगरे भोलि सोमबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चित धर्ना तथा बिरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपालमा किसानले धेरै किसिमबाट पीडित बन्नु परिरहेको छ । खेतीपातीको सिजनमा रासायनिक मल नपाउने, विभिन्न तहको सरकारले किसानको लागि दिने गरेको अनुदान तथा अन्य सुविधा टाठाबाठा गैरकिसानले लिने, व्यापारी तथा मध्यस्थकर्ताले पनि किसानलाई नै शोषण गर्ने गरेका कारण किसान पीडित बन्नु परिरहेको छ । सरकारले कृषि वस्तुको जथाभावी आयात खुला गरिदिने गरेका कारण पनि किसानहरु थप समस्यामा पर्ने गरेका छन् । संघ, प्रदेश र स्थानीय सरकारले वास्तविक र न्यून आय भएका किसानलाई अनुदान र कृषिजन्य वस्तुुको उत्पादन लागत कम गर्न किसानलाई उत्पादनको आधारमा अनुदान दिनु आवश्यक छ । किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम मूल्य तोकेर किसानले बजारमा बिक्री गर्न नसकेमा सरकारले खरिद गर्ने व्यवस्था हुनुपर्छ । नेपाली कृषि उत्पादनले भारतीय तथा चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण कृषि वस्तुको आयातलाई नियन्त्रण गर्नुपर्छ । किसानले सहुलियत र सुविधा नपाउँदा उनीहरु कृषि पेसाबाट नै पलायन हुने अवस्था आउन नदिन सरकारले किसानको मागलाई उचित सम्बोधन गरेर उनीहरुलाई प्रोत्साहित गर्नु आवश्यक छ ।