हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको ८ नम्बर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । बुधबार हेटौंडा–८ स्थित कमाने शहरी स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कमाने शहरी स्वास्थ्य केन्द्रकी प्रमुख विष्णु प्रधानले जानकारी दिनुभयो । वडाअध्यक्ष रामकृष्ण थापाले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभयो ।
सबै मापदण्ड पूरा भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्नुहुँदै वडाअध्यक्ष रामकृष्ण थापाले घरमै सुत्केरी गराउनु सुरक्षित नभएका कारण सरकारले तोकेको, सुविधा भएको अस्पताल तथा स्वास्थ्यचौकमिा सुत्केरी गर्न, गराउन आग्रह गर्नुभयो । वडाका गर्भवतीहरु सबै अस्पताल र स्वास्थ्य चौकीमै सुत्केरी हुने सुनिश्चित भएको, घरमै सुत्केरी हुने दर शून्य रहेकोले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको शहरी स्वास्थ्य केन्द्र कमानेकी प्रमुख प्रधानले बताउनुभयो । यसअघि हेटौँडा उपमहानगरपालिकाको ६ र ९ नम्बर वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषण भइसकेको छ ।
वडाले एक हप्ता घरदैलो र सर्वेक्षण गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । प्रधानका अनुसार ८ नम्बर वडामा महिनामा १५ जनाभन्दा बढी संख्यामा महिलाहरु सुत्केरी हुने गरेका छन् । पूर्ण सुत्केरी वडा घोषणा कार्यक्रममा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई फागुन १३ गतेदेखि १९ गतेसम्म लगाइने दादुरा रुबेला खोपको बारेमा समेत छलफल भएको छ । कार्यक्रममा खोप समन्वय समिति, टोल विकास समिति, विभिन्न संघ संस्था, आमा समूह, बालसमूह लगायत गरी ५० जनाको सहभागिता रहेको थियो ।