शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौँडाः बारा जिल्लाको मधुवनमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८ जनामा मोतिविन्दु पहिचान भएको छ । मंगलबार भएको शिविरमा जाँच गराएका २ सय ६० जनामध्ये ४८ जनामा मोतिविन्दु पहिचान भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका वरिष्ट व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ काठमाडौं मिड टाउनले स्थानीयको सहयोगमा आयोेजना गरेको शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । यसअघि शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा भएको शिविरबाट ११ जना र सोमबार हेटौँडा–१३, पदमपोखरी र बारा जिल्लाको महागढीभमाई नगरपालिकामा भएको शिविरमा ७४ जनामा मोतिविन्दु पहिचान भएको थियो । शिविरबाट मोतिविन्दु पहिचान भएका विरामीलाई हेटौँडाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गरिनेछ । बुधबार र बिहिबार दुइदिन शल्यक्रिया गरिने श्रेष्ठले जानकारी दिनुभएको छ ।