प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको राजिनामा मागेको छ । देशभर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने क्रममा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा मागेको हो । बुधबार राप्रपा मकवानपुरका अध्यक्ष सागर थापाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई ४० बुँदे माग उल्लेखित ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाले केन्द्रीय निर्देशन अनुसार बुधबार ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाएको हो । राप्रपाको टोली पार्टी कार्यालयबाट कान्तिराजपथ, बुद्ध चोकहुँदै नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री राजिनामा दे, प्रदेश सरकार खारेज गर, संघीयता खारेज गर, हिन्दुराष्ट्र कायम गर, भ्रष्टाचार बन्द गर भन्दै नाराबाजी गरेका थिए । देशमा २०४६ सालमा राज्यको नियमित खर्च ३५ प्रतिशत र विकास खर्च ६५ प्रतिशत रहेकोमा अहिले नियमित खर्च ७३ प्रतिशत र विकास खर्च २७ प्रतिशत मात्र रहेको बताउँदै देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त हुन नसक्ने राप्रपाले जनाएको छ ।