हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माविका विद्यार्थी एसईई अभ्यास परीक्षामा सहभागी हुँदै ।

हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका ४८ वटा विद्यालयमा एसईई अभ्यास परीक्षा सकिएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको सहजीकरणमा तीन वटा पालिकाका ४८ विद्यालयले एकसाथ अभ्यास परीक्षा सञ्चालन गरेको हो । माघ २५ गतेबाट सुरु भएको परीक्षा फागुन ६ गते सम्पन्न भएको हो ।

अभ्यास परीक्षामा हेटौँडा उपमहानगरपालिकाका २७ विद्यालयका एक हजार नौ सय ९८ जना, मकवानपुरगढी गाउँपालिकाका १० विद्यालयका दुई सय ८९ जना र बकैया गाउँपालिकाका ११ विद्यालयका चार सय १२ विद्यार्थी अभ्यास परीक्षामा सहभागी भएको नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो । परीक्षा फारम भरेका मध्ये १० जना विद्यार्थी अनुपस्थित भएको लुइटेलले बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–३, लेवटस्थित बालउज्ज्वल मावि र हेटौँडा–६, चौघडाबाहेक सबै विद्यालयले नगरस्तरीय शैक्षिक समन्वय समितिसँगको सहकार्यमा एसईई अभ्यास परीक्षा सञ्चालन गरेको हो ।

परीक्षाको नतीजा विद्यालयले आआफ्नो अनुकुलमा फागुन दोस्रो साताभित्रै सार्वजनिक गर्न र विद्यार्थीलाई थप तयारीका लागि सहजीकरण गर्न भनिएको नगरस्तरीय शैक्षिक समन्वय समितिअन्तर्गतको परीक्षा समितिका संयोजक कृष्ण पोखरेलले बताउनुभएको छ । यसअघि मकवानपुरका निजी विद्यालयहरुले माघ १४ गतेदेखि सुुरु गरी माघ २२ गते नै परीक्षा सकाइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले भने एसईई परीक्षाको तालिका चैत १५ गतेबाट सञ्चालन गर्ने गरी प्रकाशित गरेको छ ।