हेटौंडाः हेटौँडा अस्पतालको अस्पतालमा आधारित लैङिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रमा ३ महिनाको अवधिमा एक सय ४२ जना हिंसा पीडितले सेवा लिएका छन् । मसिंर महिनादेखि माघ महिनासम्म एक सय ४२ जना हिंसा पीडितले सेवा पाएको केन्द्रकी इन्चार्ज अमृता श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रको तथ्याङ्कअनुसार मंसिर महिनामा ३८ जना, पुस महिनामा ४६ जना र माघ महिनामा ५८ जना हिंसा पीडितले पाएका छन् । मंसिर महिनाको तथ्याङ्क अनुसार जबरजस्तीकरणी पीडित ७ जनाले सेवा लिएको श्रेष्ठले बताउनुभयो । यस्तै, यौनजन्य, शरीरिक र जबर्जस्ती विवाहको घटनामा पीडित एक÷एक जनाले सेवा लिएका छन् । पुस महिनामा जबर्जस्तीकरणी पीडित ९ जना, शरीरिक हिंसाका ४ जना, जबर्जस्ती विवाहका एक जना, घरेलु हिंसाका ३ जना र अन्य हिंसाका ६ जना पीडित केन्द्रमा पुगेका थिए ।

माघ महिनामा जबर्जस्तीकरणीको घटनामा ३ जना, यौनजन्य हिंसामा १ जना, शारीरिक हिंसामा ६ जना, जबर्जस्ती विवाहका ५ जना, घरेलु हिंसाका ३ जना पीडितले सेवा लिएका श्रेष्ठले बताउनुभयो । तीन महिनाको अवधिमा ५६ जना महिला, ४ जना पुरुष र १ जना लैंगिक अल्पसंख्यक पीडित भएका छन् । हिंसामा धेरै महिला परेका छन् । हेटौँडामा मंसिर महिनामा १८ जना महिला र एक जना अल्पसंख्यक, पुस महिनामा २० जना महिला र ३ जना पुरुष र माघ महिनामा २८ जना महिला र एक जना पुरुष हिंसामा परेका छन् ।

एकद्वार संकट व्यवस्थापन केन्द्रको लक्षित समूहमा हरेक किसिमका लैङिगक हिसाबाट प्रभावित व्यक्तिहरु पर्दछन् । सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरू, लैङ्गिक हिंसाको जोखिमयुक्त परिस्थितिमा रहेका बेवारिसे एवम् शारीरिक तथा मानसिकरूपले अशक्त तथा बालबालिकाहरू, लैङ्गिक हिंसाबाट प्रभावित भई मानसिक स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएका कारणले घर वा सार्वजनिक स्थानमा अलपत्रमा परेका महिला तथा बालबालिकाहरु लक्षित गरेर केन्द्र सञ्चालन गरिएको छ ।

यस्तै, तेस्रो लिङ्गी समूह, लैङ्गिक हिंसा पीडित एकल महिला, अपाङ्गता भएका महिला, बालबालिका र ज्येष्ठ नागरिक महिला, सशस्त्र द्वन्द्व तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्न सक्ने महिला वा बालबालिकाहरू र एचआईभी तथा एड्सबाट सङ्क्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित महिला वा बालबालिकाहरू केन्द्रको लक्षित समूहको रुपमा रहने श्रेष्ठले बताउनुभयो ।