हेटौंडाः बागमती प्रदेशसभाको अधिवेशन फागुन १५ गतेका लागि आह्वान गरिने भएको छ । बुधबार मुख्यमन्त्री कार्यालयमा बसेका प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक १५ गतेका लागि आह्वान गर्न सिफारिस गरेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बताउनुभयो ।
गत असोज २४ गतेबाट स्थगित भएको प्रदेशसभा बैठक झण्डै ५ महिनापछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छात्रवृत्तिबापतको २ करोड १० लाख रुपैयाँ थप बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बजेट निर्माणको चरणमा छुट भएकाले उक्त रकम थप दिने निर्णय गरिएको लामाले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश उच्च शिक्षा ऐन २०७८ बमोजिम विश्वविद्यालय स्थापना तथा सञ्चालनको विधान स्वीकृत गरेको छ । प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि सामाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ ।
सोही स्वीकृतिअनुसार प्रदेश विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना, जग्गा, मापदण्डलगायतका विषयमा अध्ययन तथा अनुगमन र कार्यप्रगति मूल्यांकनका लागि मन्त्रिपरिषद्ले निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार र मापदण्ड मूल्यांकन गरी थप संरचना निर्माण गरेर अघि बढ्न मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै, बैठकले विशेष पद तोक्ने सम्बन्धमा समेत निर्णय गरेको छ । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले उक्त समितिका लागि १४ जना विभिन्न तहका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
बैठकले काभ्रेको नमोबुद्ध नगरपालिकालाई झोलुंगे पुल निर्माणका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । २ स्थानीय तह जोड्ने सो पुल निर्माणका विषयमा विवाद रहेकाले मन्त्रिपरिषद् बैठकले नमोबुद्ध नगरपालिकालाई अख्तियारी दिएको हो । सो पुलले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकालाई जोड्नेछ । बैठकले सामाजिक विकास मन्त्रलयबाट पेस भएको प्रस्तावमा विपन्न दलित सशक्तिकरण कार्यविधि र शिक्षा नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत्को सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ । बैठकले प्रदेश स्वयम्सेवक ब्युरो गठनका लागि कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशमा विपद्जन्य घटना हुँदा परिचालन गर्नेगरी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको र सोअनुसार कार्यान्वयनमा जाने तयारी गरेको मन्त्री लामाले बताउनुभयो ।