हेटौंडाः मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको तयारी भैरहेको छ । गाउँपालिकाले गत वर्षहरुको झै वडाहरुलाई आगामी आर्थिक वर्ष बजेट सिलिङ नपठाउने भएको छ । वडाहरुमा बजेटको सिलिङ पठाउँदा टुक्रे योजनाहरु मात्र हुने ठुला योजनाहरु कम हुने भएकोले ठुला र दुरगामी योजनाहरु ल्याउनको लागि वडामा बजेटको सिलिङ नपठाउने भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा गत वर्षको तुलनामा बजेट बढाउने भएको छ । आन्तरिक तर्फको बजेट बढेपछि गाउँपालिकाले आगामी आर्थिक वर्षको वजेट बढाउने भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामलाई मुख्य प्राथमिकतामा राखेर ल्याउने जनाएको छ । गाउँपालिकाले स्वास्थ्य, कृषि, पशुपालन र शिक्षालाई विशेष ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउने अध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकामा हाल राजश्व परामर्श समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, शिक्षा विकास समिति, कृषि विकास समिति लगायतका समितिहरुले नीति तथा कार्यक्रमको बारेमा छलफल गरिरहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आ–आफ्नो वडामा के–कस्ता योजनाहरु आवश्यक छ भनेर गाउँपालिकाको प्रत्येक वडाहरुमा पनि छलफल तीव्र बनाएको छ ।

गाउँपालिकाले आगामी असार २ गते सर्वदलीय र सर्वपक्षीय बैठक आव्हान गरेको छ । बैठकमा गाउँपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज र संघीय तथा प्रदेश सरकारका सांसदहरुको सुझाव संकलन गरिने भएको छ । सुझावकै आधारमा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्ने अध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकामा ढुंगा, गिटी, बालुवा, वन लगायतका आन्तरिक आयका श्रोतबाट गत वर्षभन्दा केहि धेरै राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । राक्सिराङ गाउँपालिकामा आगामी आर्थिक वर्षको लागि संघीय सरकारले वित्तीय समानीकरणतर्फ ९ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै सशर्त अनुदानतर्फ १६ करोड १२ लाख र विशेष अनुदानतर्फ २ करोड बजेट विनियोजन गरेको गरेको गाउँपालिकाले जानकारी दिएको छ ।