हेटौडा क्याम्पसको वार्षिक साधाहरण सभालाई सम्बोधन गर्नुहुँदै भूमि उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ।

हेटौँडाः हेटौँडा क्याम्पसको साधारणसभा शनिबार सम्पन्न भएको छ । क्याम्पसको १५ औं वार्षिक साधारणसभामा क्याम्पसको आय–व्यय तथा भावी योजना प्रस्तुत गरिएको छ । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष नमुना पाण्डेले गत आर्थिक वर्षमा क्याम्पसले ८ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको बताउनुभएको छ ।

क्याम्पसको सभाहलमा भएको सभामा आर्थिक वर्ष २०७९–०८० मा क्याम्पसको आम्दानी ८ करोड ६ लाख ६२ हजार ९ सय ३२ रुपैयाँ रहेको कोषाध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८०–०८१ मा ९ करोड ८४ लाख ९३ हजार ९ सय ६७ रुपैयाँ आम्दानी हुने अनुमानित विवरण प्रस्तुत गर्नुभएको छ ।

क्याम्पसमा कक्षा ११ देखि स्नात्तकोत्तर तहसम्मका कक्षा सञ्चालन हुने गरेका छन् । चालु शैक्षिक सत्रबाट कक्षा ११, १२ मा होटेल व्यवस्थापन तथा पर्यटन तथा पर्वतारोहण विषयका कक्षाहरु सञ्चालन भइरहेको साधारणसभामा जानकारी दिइएको छ । क्याम्पसमा शिक्षा शास्त्र संकायका स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको बताइएको छ । हेटौंडा क्याम्पस समुदायको सक्रियतामा सञ्चालित सामुदायिक क्याम्पस रहेको र न्यूनतम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको कोषाध्यक्ष पाण्डेले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा क्याम्पसले पटक–पटक उत्कृष्ट नतिजा ल्याउन सफल भएको साधारणसभामा जानकारी दिइएको छ । क्याम्पसमा कम्प्युटर प्रयोगशाला, ई–पुस्तकालय तथा पर्याप्त पुस्तकसहितको आधुनिक पुस्तकालयको व्यवस्था गर्ने योजना रहेको बताइएको छ ।

क्याम्पसले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धनमा कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र मानविकीका विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा स्नातक तहमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा शिक्षा संकाय (बीएड)तर्फ अंग्रेजी, गणित, स्वास्थ्य, जनसंख्या, नेपाली, अर्थशास्त्र र विज्ञान विषयको अध्यापन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा २०७६ देखि व्यवस्थापन संकायको स्नातक तहमा बीबीएसका कक्षा नेपाली र अंग्रेजी दुबै माध्यम सञ्चालन रहेको बताइएको छ ।

यस्तै, मानविकी संकायमा अंग्रेजी, समाजशास्त्र, ग्रामीण विकास तथा गणित विषयको कक्षा सञ्चालन भइरहेको क्याम्पसमा शिक्षाशास्त्र संकायको स्नातकोत्तर (एमएड) को अध्यापनसमेत हुँदै आएको छ । एमएडमा नेपाली, गणित, स्वास्थ्य, अंग्रेजी र शैक्षिक योजना तथा व्यवस्थापन विषयको अभ्यापन भइरहेको साधारणसभामा जानकारी दिइएको छ ।

क्याम्पसमा हाल ७७ जना प्राध्यापक, कर्मचारी कार्यरत छन् । ५ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, ३ जना सहायक प्राध्यापक र ४ जना शिक्षण सहायक गरी १७ जना पूर्णकालीन प्राध्यापक छन् । यस्तै, १३ जना आंशिक उपप्राध्यापक र ३६ जना आंशिक शिक्षक छन् । क्याम्पसमा ८ जना स्थायी पूर्णकालीन र ३ जना करार गरी ११ जना कर्मचारी रहेका छन् ।