हरेक वर्ष नेपालमा पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको छ । यस वर्षको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बुधबार विविध कार्यक्रम गरेर मनाइयो । ‘ज्येष्ठ नागरिकको सम्मानः हाम्रो सभ्यताको पहिचान’ भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।विगतका वर्षहरुमा भन्दा यस वर्ष केही फरक ढंगले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विद्यालयमार्फत् विद्यार्थीलाई सचेतना प्रदान गर्दै दिवस मनाउन अनुरोध गरेको थियो । सोहीबमोजिम शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालयलाई निर्देशन जारी गर्दै प्रत्येक विद्यालयले सामाजिक अध्ययन विषयको अध्यापन घण्टीमा ज्येष्ठ नागरिकसम्बन्धी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न भनेको थियो । सोही निर्देशनबमोजिम देशभरका अधिकांश विद्यालयले विद्यार्थीलाई ज्येष्ठ नागरिकसम्बन्धी सचेतना प्रदान गरेका छन् ।

मानिसले आफ्नो जीवनकालमा बालक, किशोर, युवा र बृद्ध गरी चार अवस्था पार गर्नुपर्छ । मानव जीवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बालक अवस्था हो । चन्चल र रमाउने अवस्था किशोरावस्था हो । जिम्मेबारीको पोको बोकेर अवसर र चुनौतीहरुलाई जीवनको सार्थकतामा दौडिने अवस्था युवा अवस्था हो । युवा अवस्थाका रोजाई र भोगाइबाट खारिँदै जीवनको अन्त्यतिर मानिसले बृद्ध अवस्था भोग्नुपर्छ । आम बृद्धहरुको अवस्था नेपालमा सुखद् रहेको पाइँदैन । नेपालमा एकाध अपवादबाहेक बृद्धावस्था दुर्भाग्यपूर्ण बनिरहेको पाइन्छ । बृद्धावस्थाको समयमा शारीरिक अशक्तता, परनिर्भरता र विभिन्न रोगहरुले सताइरहेको हुन्छ । आमरुपमा पारिवारिक माया र स्याहारसुसार आवश्यक पर्ने समयमा नेपालका अधिकांश ज्येष्ठ नागरिक हेला, घृणा र दुव्र्यवहारको शिकार बनिरहेका छन् । बालकजस्तै बृद्धहरुलाई पनि माया, ममता, स्नेह, स्याहार आवश्यक पर्दछ । उनीहरुलाई आफ्ना आधारभूत आवश्यकता पूरा गर्न अरुको भर पर्नुपर्ने हुन्छ ।

नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ बमोजिम ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकको रुपमा परिभाषित गरिएको छ । वि.सं २०७८ सालको जनगणनाअनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या करिब ३० लाख छ । २०६८ सालको जनगणनामा यो संख्या करिब २२ लाख रहेको थियो । संसारभर ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको संख्या करिब एक अरब छ । ज्येष्ठ नागरिकको संख्या वृद्धि हुँदै गए पनि उनीहरुको पालनपोषण तथा हेरचाहमा भने कमी हुँदै गएको छ । प्रत्येक घरका युवाजति वैदेशिक रोजगारी र अध्ययनको नाममा विदेशिने क्रम बढ्दै गएपछि ज्येष्ठ नागरिकको हेरचाहको समस्या बढ्दै गएको हो । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ । तर, पछिल्लो समय पारिवार, समाज र देशबाटै ज्येष्ठ नागरिक अपहेलित हुने क्रम बढ्दै जाँदा उनीहरुको सामाजिक सुरक्षाबारे चासो र चिन्ता पनि बढ्दै गएको छ ।

वृद्धावस्थामा पुगेका जेष्ठ नागरिकलाई उचित सम्मान प्रदान गर्न सचेत बनाउने उद्देश्यले ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको हो । हाम्रो दशेमा पुस ११ गते राष्ट्रिय र अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । हाम्रो देशमा परापूर्व कालदेखि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा भए पनि पछिल्लो समय ज्येष्ठ नागरिकहरु तिरस्कृत बन्ने क्रम बढ्दै गएको पाइन्छ । त्यही भएर यस वर्षको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नाराले पनि ज्येष्ठ नागरिकको सम्मानलाई हाम्रो सभ्यताको पहिचानको रुपमा उजागर गरेको छ । नारामा भनिएजस्तै ज्येष्ठ नागरिकहरुको इच्छा र चाहना पूरा गर्न परिवार तथा राज्यले पर्याप्त ध्यान दिन सकेमा ज्येष्ठ नागरिकको सम्मान हुने थियो । ज्येष्ठ नागरिकको सम्मान हुन सकेमा यो दिवस मनाउनुको सार्थकता पनि रहन्थ्यो ।