हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयले बुधबार ४७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्यसमेत प्रस्तुत गरेका छन् ।

कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका उपप्रमुख मानकुमारी पाख्रिनको सभाअध्यता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास संयोजक आइत सिंह लोको विशिष्ट आतिथ्य रहेको विद्यालयका शिक्षक शान्तप्रसाद दाहालले जानकारी दिनुभयो ।

विद्यालयले पछिल्लो समयमा शैक्षिक, भौतिक पक्षमा सुधार गर्दै गएको र आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धिको अपेक्षा गरिएको बताइएको छ । कार्यक्रममा जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा अभिभावकलाई समेत खेल खेलाएर पुरस्कृत दाहालले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विभिन्न विधामा सम्मानित विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयबाट अन्य विद्यालयमा सरुवा भई जानुहुने शिक्षकलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

१२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय ५० जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।