रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार बिहान रक्तदान कार्यक्रम भएको छ । सहकारीको २५ औं वार्षिकोत्सवको अवसरमा मुख्य कार्यालय परिसरमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । सहकारीले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रक्तसञ्चार केन्द्रमा बी र ओ पोजेटिभ समूहको रगत पर्याप्त भएकोले ए र एबी पोजेटिभ समूहका रगत मात्रै संकलन गरिएको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । बिहिबार हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माविले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

यस्तै शनिबार कैलाश गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी गोगने उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम हुँदैछ भने पुस २१ गते मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा पनि रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख दाहालले जानकारी दिनुभएको छ ।