हेटौंडाः बागमती प्रदेशमा मानसिक स्वास्थ्यका कारण दैनिक ३ जनाले आत्महत्या गर्ने गरेको बताइएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याबारे प्रस्तुतिकरण गर्दै प्रदेशमा दैनिक ३ जनाले आत्महत्या गर्ने गरेको बताउनुभएको हो ।

बुधबार भएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गतासम्बन्धी कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी चन्द्रा व्यञ्जनकार र स्वास्थ्य निर्देशनालयका सतिश विष्टले नीति तथा कार्यक्रम र भावी योजनासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको छ । प्रदेश सरकारद्वारा सञ्चालित मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता तथा सुस्वास्थ्यसम्बन्धी कार्यक्रमहरु तथा नीति नियमहरुको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

स्वास्थ्य निर्देशनालयका फोकल पर्सन सुशील आचार्यले प्रदेशस्तरमा मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ को कार्यान्वयनको अवस्थाबारेमा छलफल र आगामी दिनमा मानसिक सुस्वास्थ्य प्रबद्र्धनका लागि योजना बनाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । कोशिशको सहकार्यमा भएको कार्यक्रममा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अनुभव सुनाएका थिए ।

बागमती प्रदेशमा आत्महत्या हुने कारण खोजी गरी उपचार गर्न आवश्यक रहेकोमा सहभागीहरुले जोड दिएका छन् । सहभागीहरुले मानसिक स्वास्थ्यमा बजेट बढाउनुपर्ने बताएका थिए । संघ र प्रदेश सरकारले मात्र नभई स्थानीय सरकारले पनि मानसिक तथा मनोसामाजिक अपाङ्गताका विषयमा कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।