पिप्लेमा निर्माणाधिन बहुउपयोगी कभर्ड हलका लागि सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा निर्माणाधिन दुई वटा कभर्ड हललाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । खेलकुदले दुवै कभर्ड हललाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । आज बिहान हेटौंडा–५, पिप्लेस्थित निर्माणाधिन बहुउपयोगी कभर्ड हल निर्माणस्थलमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख खुशराज दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले पिप्लेमा निर्माणाधिन कभर्ड हल निर्माणका अगुवा सुशील घिमिरे र हेटौंडा–४, कर्रामा निर्माणाधिन तेक्वान्दो कभर्ड हलका लागि मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यलाई चेक हस्तान्तरण गरिएको छ । राज्यले नै निर्माण गर्नुपर्ने संरचनाहरु समुदाय र सम्बन्धित खेल क्षेत्रका अगुवाले निर्माण गरिरहेकोले अगुवालाई प्रेरित गर्ने र सो अभियानमा सहभागी समेत हुन सहयोग गरिएको खेलकुद विकास समितिका प्रमुख खुशराज दाहालले बताउनुभयो ।

हेटौंडा–४, कर्रामा निर्माणाधिन तेक्वान्दो कभर्ड हलका लागि सहयोग रकम हस्तान्तरण गरिँदै ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले पिप्लेको कभर्ड हल निर्माणको प्रक्रियालाई हेर्दा इमानदार र पारदर्शी भएर काम गरे सहयोग जुट्ने उदाहरण भएको बताउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले कुनै पनि काम प्रयास गर्‍यो भने सफल भइन्छ भन्ने उदाहरण पिप्लेस्थित निर्माणाधिन कभर्ड हल भएको बताउनुभयो ।

पिप्ले युवा क्लबका अध्यक्ष समेत रहनुभएका कभर्ड हल निर्माणका अगुवा सुशील घिमिरेले खेलकुद विकास समितिको सहयोगप्रति आभार व्यक्त गर्नुहुँदै सबैको साथ र सहयोगबाट बन्ने कभर्ड हलले राम्रा खेलाडी उत्पादन गरी जिल्ला र देशका लागि पदक जित्ने गरी अझै मिहिनेत गर्न बाँकी रहेको बताउनुभयो । खेल क्षेत्रको विकासमा आफूहरुले गरिरहेको प्रयासमा साथ र सहयोग गर्ने सबैप्रति मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले आभार व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा पिप्ले युवा क्लबका पदाधिकारी तथा विभिन्न खेल क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।