मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिकले किसानलाई फलफुलको बेर्ना वितरण गर्दै गरेको गत वर्षको फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा अभियानमुखी फलफुल वृक्षरोपण हुने भएको छ । गाउँपालिकाले कृषि ज्ञानकेन्द्र चितवनको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्ने भएको हो । गाउँपालिकाले निजी क्षेत्र, कृषक समुह, सहकारी संस्थाहरुको साझेदारीमा फलफुल वृक्षरोपण गर्ने भएको छ ।

गाउँपालिकाले वृक्षरोपणको लागि १० प्रजातिका ३४ हजार ४ सय ५० वटा बिरुवाहरु छनोट गरिसकेको छ । गाउँपालिकाले फलफुल वृक्षरोपण गर्न इच्छुक किसान, कृषि समुह, सहकारी तथा कृषि फामहरुले आ–आफ्नो वडामा निवेदन दिन गाउँपालिकाले सुचना प्रकाशन गरेको छ । गाउँपालिकाले यहि जेठ ३२ गतेसम्म निवेदन दर्ता गर्ने समय तोकेको छ ।

गाउँपालिकाले छनोट गरेको १० किसिमका फलफुलका बिरुवा मध्ये कागतीको बेर्ना सबैभन्दा धेरै ८ हजार ६ सय ५० वटा र कागतीकै कलमी ७ हजार छनोट गरेको छ । त्यस्तै आँप कलमी ४ हजार ५ सय, लिची ४ हजार ३ सय र अम्बाको बिरुवा ४ हजार छनोट गरेको छ । गाउँपालिकाले अनार २ हजार, एभोकाडो, सुन्तला, रुखकटर र मौसम भने हजार/हजार वटा छनोट गरेको छ । किसानले बाँझो जमिनमा फलफुल लगाएमा गाउँपालिकाले प्राथमिकता दिने बताएको छ ।