हेटौंडाः मल नपाएको भन्दै सोमबार हेटौंडामा आन्दोलनमै उत्रिएका किसानले आज मंगलबार बिहानैदेखि मल किन्न पाएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत प्राप्त ४२० बोरा मल मध्ये ६० बोरा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ लाई पठाएको छ भने बाँकी ३६० बोरा मल हेटौंडा–४, पारिजातपथस्थित किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत आज बिहानैदेखि वितरण गरिँदैछ ।
सहकारीले प्रतिव्यक्ति २० केजीका दरले मल विक्री गरिरहेको छ । मल किन्न आउने किसानको भीड लागेको छ । मल वितरणका लागि नेपाल प्रहरी र हेटौंडा उपमहानगरको नगर प्रहरीले सहयोग गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले मल वितरणको अनुगमन गर्नुभई थप मल ल्याउन पहल भइरहेको जानकारी दिनुभएको छ । किसानको माग उच्च भएकै कारण भीमफेदीका लागि पठाउने भनिएको एक सय बोरा मल पनि हेटौंडामै वितरण गरिएको छ ।