Home खेलकुद निर्माणाधिन दुई वटा कभर्ड हललाई खेलकुद विकास समितिको आर्थिक सहयोग

निर्माणाधिन दुई वटा कभर्ड हललाई खेलकुद विकास समितिको आर्थिक सहयोग

पिप्लेमा निर्माणाधिन बहुउपयोगी कभर्ड हलका लागि सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा निर्माणाधिन दुई वटा कभर्ड हललाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । खेलकुदले दुवै कभर्ड हललाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । आज बिहान हेटौंडा–५, पिप्लेस्थित निर्माणाधिन बहुउपयोगी कभर्ड हल निर्माणस्थलमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख खुशराज दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले पिप्लेमा निर्माणाधिन कभर्ड हल निर्माणका अगुवा सुशील घिमिरे र हेटौंडा–४, कर्रामा निर्माणाधिन तेक्वान्दो कभर्ड हलका लागि मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यलाई चेक हस्तान्तरण गरिएको छ । राज्यले नै निर्माण गर्नुपर्ने संरचनाहरु समुदाय र सम्बन्धित खेल क्षेत्रका अगुवाले निर्माण गरिरहेकोले अगुवालाई प्रेरित गर्ने र सो अभियानमा सहभागी समेत हुन सहयोग गरिएको खेलकुद विकास समितिका प्रमुख खुशराज दाहालले बताउनुभयो ।

हेटौंडा–४, कर्रामा निर्माणाधिन तेक्वान्दो कभर्ड हलका लागि सहयोग रकम हस्तान्तरण गरिँदै ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले पिप्लेको कभर्ड हल निर्माणको प्रक्रियालाई हेर्दा इमानदार र पारदर्शी भएर काम गरे सहयोग जुट्ने उदाहरण भएको बताउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले कुनै पनि काम प्रयास गर्‍यो भने सफल भइन्छ भन्ने उदाहरण पिप्लेस्थित निर्माणाधिन कभर्ड हल भएको बताउनुभयो ।

पिप्ले युवा क्लबका अध्यक्ष समेत रहनुभएका कभर्ड हल निर्माणका अगुवा सुशील घिमिरेले खेलकुद विकास समितिको सहयोगप्रति आभार व्यक्त गर्नुहुँदै सबैको साथ र सहयोगबाट बन्ने कभर्ड हलले राम्रा खेलाडी उत्पादन गरी जिल्ला र देशका लागि पदक जित्ने गरी अझै मिहिनेत गर्न बाँकी रहेको बताउनुभयो । खेल क्षेत्रको विकासमा आफूहरुले गरिरहेको प्रयासमा साथ र सहयोग गर्ने सबैप्रति मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले आभार व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा पिप्ले युवा क्लबका पदाधिकारी तथा विभिन्न खेल क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।

Exit mobile version