शनिबारबाट लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । अभियान सुरु भएको भोलिपल्टै हिंसापीडित एक महिला उपचार खर्च तिर्न नसकेर अस्पतालमै बस्नुपरेको समाचार बाहिरियो । हरेक वर्ष विश्वभर २५ नोभेम्बरका दिन महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यही दिनदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ । यस वर्ष नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मंसिर ९ गतदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । यो अभियान मंसिर २४ गतेसम्म चल्नेछ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरुले सन्देश जारी गरेको भए पनि लैङ्गिक हिंसाका घटनाबाट पीडितहरुको अवस्था भने त्रासदीपूर्ण छ ।

देशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भइरहँदा आफ्नै पतिको कुटाइबाट हातखुट्टा भाँचिएर उपचार गराउन हेटौंडा अस्पताल आएकी एक जना महिला महिनौं अस्पतालमै बस्नुपरेको घटना सार्वजनिक भयो । हेटौंडा–१४ की महिलालाई रक्सी खाएर मात्तिएका पतिले चिर्पटले हिर्काएर दायाँ हात र दायाँ खुट्टा दुबै भाँचिएपछि गत असोज ३ गते हेटौंडा अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । भाँचिएको हात–खुट्टाको उपचारपछि घर फर्कनुपर्ने ती महिला उपचार खर्च व्यहोर्न नसक्दा अस्पतालको वार्डमै बन्धकजस्तो भएर बस्न बाध्य भइन् । महिलाको उपचारको क्रममा हात र खुट्टामा राख्नका लागि स्टिलको रड अस्पताल बाहिरबाट किनेर ल्याएको कारण उक्त रडको खर्च बेहोर्न नसकेपछि अस्पतालले डिस्चार्ज नदिएको छ । महिलाको अवस्थाबारे आइतबार समाचार सार्वजनिक भएपछि सोमबार अस्पतालले महिलासँग उपचार खर्च नलिई डिस्चार्ज गरिदिएको छ ।

हात–खुट्टा भाँचिने गरी कुट्ने पतिको साथमा नबस्ने निर्णयमा पुगेकी ती महिला केही समय माइतमै बस्ने गरी बाबुसँग अस्पतालबाट गएकी हुन् । २ महिनाभन्दा बढी अस्पतालमै बसेकी ती महिलाले आफ्नो ९ वर्षीया छोरीलाई पनि माइतमै राखेकी छिन् । आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालले प्रदान गर्ने सेवा र उपलब्ध औषधी उनलाई निःशुल्क प्रदान गरेको थियो । भाँचिएको हात र खुट्टामा राखिएको स्टील अस्पतालभन्दा बाहिरबाट किनेर उनको उपचार गरिएकाले उक्त रडको करिब ३५ हजार रुपैयाँ भुक्तानी गर्न नसक्दा ती महिला एक महिनादेखि अस्पतालमै बस्दै आएकी थिइन् । विपन्न वर्गका लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट पनि ती महिलाको उपचारको लागि सक्दो सहयोग गरिएको थियो । ती महिलाजस्तै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा मकवानपुरमा १ सय ९४ जना हिंसाबाट पीडित भएको ओसीएमसीको तथ्यांक छ ।

लैङ्गिक हिंसाबाट पीडित हुनेहरु अधिकांश महिला रहने गरेका छन् । महिलाविरुद्ध हुने लैङ्गिक हिंसालाई कम गर्न विभिन्न दिवस मनाउने र अभियान सञ्चालन गर्ने गरिए पनि हिंसा कम हुन सकेको छैन । पछिल्लो समय महिला सशक्तिकरणका लागि उल्लेख्य काम भइरहेको र समाजसमेत सचेत बन्दै गएको अवस्थामा पनि हिंसाका घटना कम हुन सकेको पाइँदैन । लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशतको हाराहारीमा घरेलु हिंसाबाट पीडित हुने गरेको अवस्थाले हिंसालाई घरपरिवारबाटै अन्त्य गर्नुपर्ने आवश्यकता देखिएको छ । घरपरिवारबाट हिंसा पीडित बनेकाहरुलाई अन्यत्रबाट पनि थप पीडा दिने अवस्थाको अन्त्य हुनुपर्छ । हिंसा पीडितको उचित व्यवस्थापनको साथै पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउनु अत्यावश्यक भएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियान मनाइरहँदा पीडकलाई कानुनी कारबाहीको लागि थप दवाव दिनुका साथै पीडितलाई न्याय दिलाउन आवश्यक पैरवी हुनुपर्ने देखिन्छ ।