नयाँ समिति सर्वसम्मत चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा भोगेन्द्र लुइटेल निर्वाचित हुनुभएको छ । सोमबार निर्वाचन समितिले सर्वसम्मत लुइटेलको नेतृत्वमा समन्वय समिति पुनर्गठन गरेको हो । समन्वय समितिको साधारणसभा भएको ५ महिनापछि नयाँ समिति गठन भएको हो ।

गत असार ८ गते नगरस्तरीय शैक्षिक समन्वय समितिको साधारणसभा भएको थियो । समितिको उपाध्यक्षमा प्रतिमा गौतम, सचिवमा जनक धिताल, सहसचिवमा पूर्णचन्द्र काफ्ले र कोषाध्यक्षमा दिनेश उप्रेती निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा प्रेमप्रसाद पौडेल, सम्झना अधिकारी, आइतसिं ब्लोन, कृष्णप्रसाद पोखरेल, बालकुमार श्रेष्ठ, लक्ष्मी खनाल, श्याम सुन्दर शर्मा, विष्णुहरि गौतम, मुकेश कुमार मिश्र र सरस्वती चयन हुनुभएको छ ।

समितिका सदस्य कृष्णप्रसाद पोखरेललाई परीक्षा उपसमितिको संयोजक तोकिएको छ । नवनिर्वाचित कार्यसमितिमध्येबाटै एकजनालाई अतिरिक्त क्रियाकलाप उपसमितिको संयोजक बनाइने समन्वय समितिका निवर्तमान अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि समिति पुनर्गठनमा ढिलाई भएको उहाँले बताउनुभयो । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।