हेटौँडा : मकवानपुरकी साहित्यकार शान्ति प्रियवन्दना प्रज्ञा प्रादेशिक पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबार एक समारोहका बीच शान्तिलाई सम्मान गरेको छ ।
प्रत्येक वर्ष विभिन्न विधाका प्रज्ञा पुरस्कार वितरण गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षदेखि प्रज्ञा प्रादेशिक पुरस्कार पनि दिन सुरुवात गरेको हो । यस पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको हो । शान्ति प्रियवन्दनाले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै यो पुरस्कार पाउनु भएको हो । पुरस्कार वितरण कार्यक्रम बिहीबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल भएको थियो तर स्वास्थ्य समस्याका कारण उहाँ कार्यक्रममा पुग्नु भएन ।
२०३५ साल बैशाख १ गते मकवानपुरको भिमफेदी–४ मा जन्मिनु भएकी शान्तिको वास्तविक नाम शान्ति कुमारी सुवेदी हो । शान्ति प्रियवन्दना भने उहाँको साहित्यिक नाम हो । उहाँको पहिलो रचना ‘कसम नखाउ’ शिर्षकको कविता हो, जुन २०५४ सालमा हेटौँडा–६ स्थित नव जीवनज्योति क्लबको स्मारिकामा प्रकाशन भएको थियो ।
नेपाली साहित्यमा स्नात्तकोत्तर गर्नुभएकी शान्तिले विशेषगरी अखबारी लेखन, कविता र निबन्ध लेख्नु हुन्छ । पछिल्लो समय हेटौँडा–४ मा बस्दै आउनु भएकी उहाँ हाल प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशको अध्यक्ष र प्रगतिशील लेखक संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । यसअघि उहाँले आँचल साहित्य कला पुञ्ज मकवानपुरको सहसचिव, मातृभूमि साहित्य समाजको सचिव, साहित्य सङ्गम मकवानपुरको कार्यसमिति सदस्य, प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्ष, प्रगतिशील लेखक संघ बागमतीको सचिवालय सदस्य र नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागको सदस्यको रुपमा काम गरिसक्नु भएको छ ।
उहाँ यसअघि तुलसीमाया शिवकुमारी स्मृति सिर्जनशील नारी पुरस्कार २०७५ (मकवानपुर), सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान २०७८ (मकवानपुर) र शान्तिदेवी स्मृति वनस्खण्डी साहित्य सम्मान २०७८ (मकवानपुर) बाट सम्मानित हुनुभएको थियो । यसैगरी साहित्य पोष्ट उत्तम काव्य पुरस्कार २०७८ (काठमाडौं), जसुदा साहित्य सम्मान २०७८ (धनगढी) र जागरुक महिला सम्मान २०८० (मकवानपुर) प्राप्त गर्नुभएको हो । अहिलेसम्म उहाँको एउटा मात्र कृति प्रकाशनमा आएको छ । उहाँको ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ कविता संङ्ग्रह २०७८ सालमा प्रकाशनमा आएको थियो ।











